झापामा फरक कक्षाका विद्यार्थीलाई एउटै कोठामा पढाउन बाध्य

इनेप्लिज २०७२ जेठ १९ गते १६:२३ मा प्रकाशित

Jhapa_nepal-mapकाँकडभिट्टा (झापा), १९ जेठ । भूकम्पले पर्खाल चर्काएको र हावाहुरीले छाना उडाएर क्षति पुगेको झापा भद्रपुर– १२ स्थित पुहातु जनज्योति माध्यमिक विद्यालयमा फरक कक्षाका विद्यार्थीलाई एकै ठाउँ राखेर पढाउन थालिएको छ ।

सुरक्षित कोठाको अभाव भएकाले केही अलग कक्षाका विद्यार्थीलाई एउटै कोठामा मिसाएर पठनपाठन सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक शिवराम लुइँटेलले बताउनुभएको छ ।

भूकम्पले विद्यालयको पुरानो भवन चर्किएका र पाँचवटा कोठा असुरक्षित भएका थिए भने वैशाख २८ गतेको हावाहुरीले कार्यालयसहित तीनवटा कोठाको छाना उडाएको थियो ।

बाल कक्षासहित कक्षा १ र २ का सबै विद्यार्थीलाई एउटै सुरक्षित कोठामा सारेर पढाउने गरिएको र कक्षा ३ र ४ का ७० जना विद्यार्थी पनि एउटै साँघुरो कक्षामा खाँदिएर पढ्न बाध्य भएको प्रअ लुइँटेलले जानकारी दिनुभएको छ ।

विद्यालयको कक्षा ९ मा दुई वटा शाखा सञ्चालन छन् । करिब ८० जना अट्ने एउटा कोठामा दुवै शाखाका गरी १५९ जना विद्यार्थीलाई पठनपाठन गर्न बाध्य हुनुपरेको विद्यालय प्रशासनको भनाइ छ ।

कक्षा १० का दुई शाखाका ११० जना विद्यार्थीलाई पनि कोचाकोच गरेर एउटै कक्षामा राखिएको छ । विद्यार्थीले कोचाकोच गर्दा पढ्न अप्ठेरो भएको बताएका छन् ।

कक्षा ५ मा भूकम्पले चर्काएर कोठा जोखिममा पारे पनि अन्यत्र सार्ने ठाउँको अभावमा पढाइ त्यहीँ सञ्चालन भइरहेको प्रअ लुइँटेलले बताउनुभयो ।

भूकम्प र हावाहुरीले क्षति पुगेको भवन तथा छानाको नयाँ निर्माण गर्न विद्यालयसँग आर्थिक स्रोत नभएको विद्यालय प्रशासनले जनाएको छ । हावाहुरीले उडाएका पुराना जस्तापाता सङ्कलन गरेर हाल छाना टालटुल गर्ने कार्य सुरु गरिएको छ ।

“भूकम्प आइहालेमा भागेर बच्नु भनेर विद्यार्थीलाई सिकाएका छौँ”, विद्यालयकी एक शिक्षिका बताउनुहुन्छ –“अडेस लाग्दा पर्खाल लड्ला भनेर भित्तामा टाँसिनसमेत दिएका छैनौँ ।”

प्रतिक्रिया