झड्केलो छोरी बलात्कार गर्ने बाबुलाई नौ वर्ष जेल सजाय

इनेप्लिज २०७२ जेठ १९ गते १६:२२ मा प्रकाशित

rape4भक्तपुर, १९ जेठ । झड्केलो छोरीलाई एक वर्षदेखि बलात्कार गर्ने बाबुलाई भक्तपुर जिल्ला अदालतले नौ वर्षको कैद सजाय सुनाएको छ ।

भक्तपुर जिल्ला अदालतका न्यायधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले आज काभ्रे नासिका–६ घर भई मध्यपुरथिमी नगरपालिका–७ बस्ने वर्ष ३७ को ‘आशिष’ भन्ने कृष्णहरि बस्नेतलाई नौ वर्ष कैद र पीडितलाई रु ७५ हजार क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका श्रेस्तेदार खड्गप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

पीडित बालिकाको वयानअनुसार आमालाई पसलमा पठाएर छोरीलाई बलात्कार गर्ने क्रम नरोकिएपछि घर छोडेर जाने सर्तमा उनले आमालाई जानकारी दिएपछि घटना प्रहरीसम्म पुगेको थियो ।

बाह्र वर्षकी झड्केलो छोरीलाई कसैलाई भनेमा आमा र छोरी दुवैलाई मारिदिने डर धम्की दिई बस्नेतले पटकपटक बलात्कार गरेको आरोपमा छोरी र श्रीमतीले गत कात्तिक ७ गते प्रहरीमा उजुरी दिएका थिए ।

उजुरी परेको थाहा पाएलगत्तै श्रीमतीलाई चिठ्ठी लेखेर फरार भएपनि महानगरीय प्रहरी वृत्त थिमिले बस्नेतलाई गत मङ्सिर ८ गते थिमिबाटै पक्राउ गरेको थियो ।

प्रतिक्रिया