नेजाद्धारा तीन अग्रज पत्रकारहरुसँग भेटघाट

इनेप्लिज २०७२ जेठ १९ गते १४:२३ मा प्रकाशित

भर्जिनिया,अमेरिका,जुन १
नेपाली पत्रकारिताका विविध आयाम बारे अमेरिकाको डिसी क्षेत्रमा एक कार्यक्रम आयोजना गरिएको छ । आइतवार साँझ यहाँ नेपाल अमेरिका पत्रकार संघ-नेजाले आयोजना गरेको कार्यक्रममा सहभागी अग्रज पत्रकारहरुले नेपाली पत्रकारिताको आरोह/अवरोहका बारे खुलस्त छलफल गरे । मातृभूमी नेपालमा वैशाख १२ मा गएको विनाशकारी भूकम्पपछिको राष्ट्रिय विपत्तिको बेला सञ्चार जगतले खेलेको भूमिका बारे पनि सहभागीहरुले चर्चा गरे ।
आइतवार साँझ यहाँ नेपाल अमेरिका पत्रकार संघ-नेजाले हाल अमेरिका भ्रमणमा रहेका अग्रज पत्रकारहरुको स्वागतमा एक भेटघाट र छलफल कार्यक्रम आयोजना गरेको थियो । स्थानीय संचारकर्मी र समुदायका सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा हाल अमेरिका भ्रमणमा रहनु भएका तीन अग्रज पत्रकारहरु युवराज घिमिरे,गोपाल थपलिया र हरि अधिकारीले पत्रकारितामा आ-आफ्ना अनुभव बारे बोल्नु भएको थियो । उहाँहरुले राष्ट्रिय संकटको घडीमा विदेशस्थित नेपालीहरु र मिडियाले खेलेको सकारात्मक भूमिकाको प्रशंसा समेत गर्नु भएको थियो । सोही क्रममा आफ्नो विचार व्यक्त गर्दै अन्नपूर्ण पोष्ट दैनिकका सम्पादक समेत रहनु भएका अग्रज पत्रकार युवराज घिमिरेले भन्नुभयो-‘म पनि लामो समय बाहिर बसेर पत्रकारिता गरें, मेरो बुझाईमा कताकता देश छाडेर बाहिर बसेपछि पो अझ बढी नेपाली भइने रहेछ कि जस्तो लाग्छ ।’ अहिले देशमा संकट आउँदा विश्वभरका नेपालीहरु एकजुट भएर सेवा,राहत र उद्धारमा जुटेको सन्दर्भमा पत्रकार घिमिरेको आफ्नै अनुभव समेत यसरी व्यक्त भएको थियो । घिमिरेले पत्रकारिता मार्फत संचारकर्मीहरुले निर्धक्क भएर जनतालाई सु-सुचित गर्नुपर्ने दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिदैं अगाडी भन्नुभयो-‘हामीले सत्य र यथार्थलाई जनतासम्म पु-याउनु पर्छ ।’ अमेरिकामा बसेका नेपाली संचारकर्मीहरुलाई यहाँको बारे तथ्यगत जानकारी दिलाएर समाजलाई सु-सुचित गर्नुपर्ने उहाँको सुझाव थियो ।
लोकतन्त्रमा मात्र पत्रकारिताको भविष्य सुनिश्चित हुन्छ भन्दै घिमिरेले २०४७ सालपछि पत्रकारिता पेशा सम्मानित हुन थालेको र यस क्षेत्रमा राम्रा मान्छेहरुको पनि आगमन हुन थालेको बताउनु भयो । ‘पत्रकारितामा दोहोरो मापदण्ड हुनु हुँदैन,पूर्वाग्रह हुनहुँदैन,सत्यको अंश हुनुपर्छ,जवाफदेही बन्नुपर्छ,अनि मात्र पेशाको धर्म रहन्छ’ नेपाली पत्रकारिताका बारे घिमिरेको सुझावसहितको टिप्पणी थियो । उहाँले अगाडी थप्नु भयो,-”तैपनि व्यवसायमा खतरा कायमै छ,विभिन्न क्षेत्रमा भ्रष्टाचार व्याप्त छ,हामी हाम्रो पेशागत धर्मबाट च्युत भएका छौं,यदि नागरिक समाज र संचार क्षेत्र निष्पक्ष र तटस्थ हुन सकेको भए पनि देशमा संविधान बन्थ्यो’ घिमिरेले अगाडी थप्नु भयो,-‘जनताको सहभागितालाई नमानेसम्म संविधान बन्न सक्दैन ।’
कार्यक्रमका अर्का वक्ता छलफल साप्ताहिकका सम्पादक गोपाल थपलियाले आफुहरुले निजी क्षेत्रबाट पत्रिका प्रकाशन आरम्भ गर्दाको समयको चुनौतीका बारे चर्चा गर्दै भन्नुभयो-‘पत्रकार भएकै कारण २४ वटा राजकाजका मुद्दा झेल्नुपर्ने नियति हामीले बेहो-यौं,तैपनि डगमगाएनौं,यो (पत्रकारिता) पेशा मात्र होइन,अठोट हो अनि सत्यको कवज हो,त्यसैले सत्यको खोजीमा हामी(पत्रकार)हरु सधैं लडाईंको मैदानमा हुन्छौं।’ उहाँले पनि पूर्ण जानकारी बिना पत्रकारिताको जिम्मेवारी पुरा हुन नसक्ने भन्दै अमेरिका र नेपालको भूगोललाई जोड्न अमेरिकामा रहेका नेपाली मूलका संचारकर्मीहरुले पु-याएको योगदानको सह्राहना गर्नु भयो ।’हामीले त जनतालाई सू-सुचित हुन नदिएको झोंकमा पत्रकारिता सुरु ग-यौं,तर विरोध मात्र धर्म होइन पत्रकारिताको,न्यायिक स्वतन्त्रता प्रेस स्वतन्त्रताको अभिन्न अंग हो’ थपलियाले आफ्नो लामो अनुभवको निष्कर्ष सुनाउदै भन्नुभयो । नयाँ पुस्ताका उत्साही पत्रकारहरुका लागि पत्रकारिताको आफ्नै परिभाषा भन्दै थपलियाले भन्नुभयो,-‘बनावटी हुनुहुन्न,स्वतन्त्र हुनुपर्छ,अश्लील होइन,नयाँ हुनुपर्छ,असत्य होइन,विद्वतापूर्ण हुनुपर्छ,दम्भयुक्त होइन।’
अर्का वक्ता एवं साहित्यिक व्यक्तित्व समेत रहनु भएका समालोचक हरि अधिकारीले अहिले अनलाईन पत्रकारिता नै दुई ध्रुवलाई जोड्ने भरपर्दो माध्यम बनेको भन्दै यसको दुरुपयोग नहोस् भन्नेतर्फ सहज हुनुपर्ने आवश्यकता औंल्याउनु भयो ।’दुरुपयोग गर्न पनि सजिलो रहेछ,तर त्यस्तो गर्नुहुन्न,अहिले अनलाईन नै सम्पर्क सेतु हो,त्यसैले विज्ञानले दिएको यो सुविधालाई सदुपयोग गरौँ,देश र पेशागत हितका लागि सकारात्मक ढंगबाट यसको उपयोग गरौँ,अनलाईन पत्रकारिताको भविश्य उज्ज्वल छ’अधिकारीको भनाई थियो ।
नेजाका क्षेत्रीय संयोजक विश्वराज थापाले स्वागत गरेको कार्यक्रममा नेजाका सक्रिय सदस्य विष्णु शीतलले कार्यक्रम बारे जानकारी गराउनु भएको थियो भने नेजाका अध्यक्ष गौतम दाहालले कार्यक्रम संचालन,संयोजन गर्नु भएको थियो ।
कार्यक्रममा डिसी क्षेत्रमा रहेका नेजाका सदस्यहरुसहित स्थानीय समुदायका अन्य सदस्यहरु सहभागी हुनुहुन्थ्यो ।

भोला आचार्य
महासचिव, नेपाल अमेरिका पत्रकार संघ, नेजा​

प्रतिक्रिया