वीरगन्जमा तापक्रम ४२ डिग्री पुग्यो

इनेप्लिज २०७२ जेठ १९ गते ४:५६ मा प्रकाशित

garmi-hotपर्सा, १९ जेठ । एक सातादेखि लगातारको गर्मीको कारण बारा पर्साको जनजीवन कष्टकर बन्दै गएको छ ।

तापक्रम अत्यधिक बढेका कारण दिउँसोको समयमा यस क्षेत्रमा तातो हावा लु समेत चल्न थालेकाले सर्वसाधारणलाई उकुसमुकुस भएको छ । बढ्दो गर्मीले बेहाल भएका सर्वसाधारण सोमबार ४२ डिग्रीभन्दा बढी पुगेपछि सहरबजारमा चहलपहल घट्नुका साथै बिरामीको सङ्ख्या समेतमा वृद्धि भएको छ ।

गर्मीको कारण वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा छालासम्बन्धी रोगका बिरामीको सङ्ख्या अत्यधिक बढेको अस्पतालका छालारोग विशेषज्ञ चिकित्सक अतुलेशकुमार चौरसियाले जानकारी दिनुभयो । दिनमा १०० देखि १२५ जनाको सङ्ख्यामा आउने सो अस्पतालमा तापक्रममा वृद्धिसँगै हाल ३०० भन्दा बढी बिरामी आउने गरेको उहाँले बताउनुभयो । अस्पतालमा आउने बिरामीमध्ये सबैभन्दा बढी महिला र बालबालिका छन् ।

गर्मीको कारण पर्साको सदरमुकाम वीरगन्जमा सर्वसाधारणको चहलपहल कम भएपछि सोको असर नगर क्षेत्रमा रहेको व्यापारमा समेत परेकोे वीरगन्ज माईस्थानका पङ्खा पसलका सञ्चालक दीपक सर्राफले बताउनुभयो ।

प्रतिक्रिया