काँग्रेसद्वारा विद्यालयमा अस्थायी कक्षाकोठा निर्माण

इनेप्लिज २०७२ जेठ १८ गते ३:२७ मा प्रकाशित

फलेवास (पर्वत), १८ जेठ । भूकम्पले क्षतिग्रस्त बनेको पर्वत जिल्लाको ठुलीपोखरी–१ स्थित त्रिभुवन निम्नमाध्यमिक विद्यालयमा नेपाली काँग्रेसको श्रमदान टोलीले अस्थायी टहरा निर्माण गरेको छ ।

विद्यालयको भवन भत्केपछि खुल्ला चौरमा विद्यार्थी पढाउँदै आएको विद्यालयमा नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री बालकृष्ण खाँड नेतृत्वको टोलीले जस्तापाता, बाँस र पालको प्रयोग गरी तीन कोठासहितको अस्थायी भवन निर्माण गरिदिएको हो ।

आठवटा कोठा रहेको त्रिभुवन निमाविको गत वैशाख १२ गते गएको भूकम्पले तीनवटा कोठामा विद्यार्थी पढाउन नमिल्ने गरी भत्किएको थियो । विद्यार्थी पढाउन समस्या भएपछि काँग्रेस नेता खाँड नेतृत्वको ६० जनाको टोलीले विद्यालयको अस्थायी कोठा निर्माण गरेको हो । टोलीमा पर्वत र बागलुङका काँग्रेस नेता तथा कार्यकर्ता सहभागी थिए ।

“विपद्मा परेकालाई सघाउनु दायित्व सम्झेर यहाँ श्रमदानमा आएका हौँ”, काँग्रेस नेता खाँडले भन्नुभयो, “कुन ठाउँमा बढी समस्या छ, त्यहाँ श्रमदानमा खटिन्छौँ ।” उहाँले प्रभावित जिल्लामा क्षति भएको भौतिक संरचना प्रभावित नभएका जिल्लाका नेता कार्यकर्ता खटिएर श्रमदान सञ्चालन गर्ने पार्टीको नीतिअनुसार पर्वतको विद्यालय भवन निर्माणमा आएको जानकारी दिनुभयो ।

प्रतिक्रिया