माटोको परीक्षणबिना घर निर्माण नगरौँ

इनेप्लिज २०७२ जेठ १८ गते २:०७ मा प्रकाशित

957138704काठमाडौँ, १८ जेठ । ‘आकाशको तारा पातालको केतु एकचोटि नपरी कसरी चेतु’ यो नेपाली उखान हिजोआज भूकम्पपीडित नेपालीको जनजिब्रोले फड्कार्ने गरेको सहजै सुन्न सकिन्छ ।

सार्वजनिक चिया पसल, आपसी भेटघाट तथा घरायसी चुल्लोचम्कोदेखि बस्तीका पालमा पीडितले आ–आफ्ना घर बनाउँदा गरेका गल्ती ओकल्न थालेका हुन् । मनोवैज्ञानिकका अनुसार दुःख लुकाएर लुक्दैन सुख लुकायो भने लुक्छ भन्छन् । हो, त्यसैले आपत्मा नेपाली एकआपसमा दुःख साटासाट गर्छन् । फलस्वरुप विपत्तिमा एकता कायम राख्दै गल्तीलाई महसुस गर्छन् र नदोहो¥याउने सङ्कल्प पनि ।

घर बनाउनुपूर्व जमिन मुनिको माटो परीक्षण गर्नु जरुरी छ । विगत १६ वर्षदेखि कुपन्डोलमा मल्टी ल्याब सञ्चालन गर्दै आउनुभएका माटो विशेषज्ञ मधुसूदन केसीका अनुसार सामान्य घर बनाउन माटो परीक्षणका लागि कम्तीमा रु ५० हजारदेखि ७० हजार लाग्ने र ठूला प्रकृतिका घर निर्माण गर्दा रु एक लाख ५० हजारदेखि दुई लाखसम्म खर्च हुने बताउनुहुन्छ ।

माटो परीक्षण नगरी घर निर्माण गर्नु भनेको अँध्यारोमा खुट्टा टेक्नुजस्तै हो । विशेषज्ञ केसीले भन्नुभयो, “सरकारले स्थानीय गाविस तथा नगरपालिकामा अनिवार्य माटो परीक्षणको व्यवस्था मिलाएर मात्र घर निर्माणका लागि नक्सा पास गर्ने प्रावधान ल्याउनु पर्छ ।”

यसअघि स्थानीय गाविस तथा नगरपालिकाले माटो परीक्षणको कुनै व्यवस्था गरेका थिएनन् तर खानी तथा भूगर्भ विभाग, पुल्चोक इन्जिनयरिङ क्याम्पस र निजी क्षेत्रबाट स्थापित सयाँै ल्याबले भने माटो परीक्षण गर्दै आएका छन् । सबै माटो खराब हँुदैनन् । असल गुण भएको माटोले कुन तहसम्मको धक्का थेग्न सक्छ भन्ने मापन गर्ने विधिलाई माटो परीक्षण भन्ने गरिन्छ । माटो परीक्षणका साथ सहयोग र प्राविधिकको सल्लाहमा घर निर्माण गर्नुपर्ने सुझाव पुल्चोक इन्जिनयरिङ क्याम्पस माटो प्रयोगशालाका प्रमुख सिद्धार्थ शङ्करले दिनुभयो ।

घर निर्माणका बखत बचत नभए पनि बैंक वा वित्तीय संस्थाको ऋण दिने परामर्शको लोभमा फस्नाले प्राविधिकले दिएको सुझावलाई टेर्दै नटेरी ठेकेदारको लहलहैमा लागेर आफू अहिले बर्बाद भएको सुनाए बनेपा निवासी अष्ठ रञ्जितले । अष्ठले निर्माणका क्रममा प्राविधिकको भन्दा ठेकेदारको कुरा सुनेको, माटोको परीक्षण नै नगरेको, घरका भित्ताभित्तामा नस नराखेको, बालुवा, गिट्टीको नमुना परीक्षणमा बेवास्ता गरेको, आवश्यकअनुसार पिलर र बिममा डन्डी नराखेको भ¥याङ निर्माण गर्दा आवश्यक ध्यान नदिएको आदि कारणले आफ्नो घर बस्न अयोग्य भएको बताउनुभयो ।

“अगाडिको लम्बाइभन्दा पछाडिको लम्बाइ तीन गुणभन्दा धेरै हुनुहुन्न”, प्राविधिक प्रल्हाद कार्कीले भन्नुभयो । प्राविधिकको परामर्श र रेखदेखमा घर निर्माण गरेकाले बनेपाकै विकास मानन्धरको घरमा कुनै क्षति पुगेन सो घर काभ्रे जिल्लामा सबैभन्दा ठूलो र फराकिलो मानिन्छ । घर बनाउनु पहिले माटो परीक्षण गराएका थिए विकासले । भूकम्पपछि विकासको घरमा बैंकले भाडामा बस्न हानथाप गरेका छन् ।

“राम्रो होइन, बलियो घर बनाऔँ”, जिल्ला विकास समिति काभ्रेका प्राविधिक गणेश मैनालीले भन्नुभयो ।

गत वैशाख १२ गते र त्यसपछि लगातार आइरहेको भूकम्पका कारण मुलुकले अकल्पनीय मानवीय तथा भौतिक क्षति व्यहोरेको छ । भनिन्छ विपत्ति बाजा बजाएर आउँदैन । विपत्तिको समय हुँदैन ।

प्रतिक्रिया