रुसको राजधानीमा बौद्धविहारको निर्माणको कुरा चलेको धेरै वर्ष भयो । जर्मनी फाशिवादको विरुद्ध सोभियत जनताको महान देशभक्तिपूर्ण युद्धको स्वर्णजयन्तीको सन्दर्भमा मास्कोमा द्वितीय विश्वयुद्धमा सोभियत जनताको विजयको स्मारकको रुपमा सन् १९९५ को ९ मेईका दिन विजय पार्कको उद्घाटन हुँदा उक्त युद्धमा भाग लिने रुसका चारै प्रमुख धर्महरु (क्रिश्चियन अर्थाडक्स चर्च, यहूदी धर्म, इस्लाम धर्म र बुद्ध धर्म) का वीर योद्धाहरुको स्मृतिमा त्यस विशाल पार्कमा चारै धर्मका प्रतीकस्वरुप मन्दिरहरुको पनि निर्माण गर्ने योजना रहेको कुरा सुनिएको थियो । तर विजय पार्कमा अर्थाडक्स चर्च, सेनागोग र मस्जीद देखापरेको भए तापनि बौद्धमन्दिर निर्मण हुन सकिरहेको थिएन र ७०–यो विजय दिवस भव्यतापूर्वक मनाउने क्रममा त्यहाँ बौद्धमन्दिर बनाइने समाचार प्रकाशित भएको थियो । तर अभैंm पनि त्यसको निर्माण भइसकेको छैन । मेरो विचारमा मास्कोमा बसोवास गरिरहेका बौद्धधर्माबलम्बीहरुको संख्या निकै न्यून हुनु नै यस्तो ढिलाइको कारण हुनुपर्दछ । किनभने मास्कोमा रुसीहरुका अतिरिक्त यहूदी र मुसलमानहरुको जनसंख्या निकै सघन भए तापनि बौद्ध धर्माबलम्बीहरुको संख्या निकै कम छ । उनीहरुको बसोवासको क्षेत्र मुख्यतः रुसको पूर्वेली भाग (बु¥यातिया, तुभा, काल्मिकिया) मा पर्दछ ।
हालै १५ मेई २०१५ (शुक्रवार) दिन मास्कोमा भावी बौद्धविहार निर्माणस्थलमा बौद्धमन्दिरको निर्माणसम्बन्धी संरक्षण परिषद्को उपाध्यक्ष पदमा रुस महासंघको राजकीय दूमाका जनप्रतिनिधि, प्रसिद्ध गायक इओसिफ काब्जोन, मास्को मेयरका प्रतिनिधि, मास्को बौद्ध समाजकी अध्यक्ष डोल्मा शाग्दारोभा, उपाध्यक्ष कन्स्तान्तिन जिम्बिनोभका साथै विभिन्न देशका बौद्ध धर्माबलम्बी प्रतिनिधिहरुको समेत समुपस्थिति रहेको थियो । रुसमा बसोवास गरिरहेका नेपाली समुदायको प्रतिनिधित्व रुस–नेपाल सहयोग तथा मैत्री समाजका उपाध्यक्ष डा. मणिराज पोखरेलबाट भएको थियो ।
स्मरण रहोस्, रुसको राजधानीमा बसोवास गरिरहेका बौद्ध धर्माबलम्बीहरुले मस्को बौद्ध समाज भनिने सामाजिक संस्था स्थापना गरेका छन् । त्यसको अध्यक्षपदमा बु¥यातिया मूलकी डोल्मा शाग्दारोभा कार्यरत छिन् । उनीसंग मेरो चिनापर्ची निकै पुरानो छ । सोभियत सत्ताकालमा उनी धार्मिक मामिलासम्बन्धी राजकीय समितिमा काम गर्दथिन् र उनले त्यतिखेर रुसका बौद्धमार्गीहरुसंग घनिष्ट सम्बन्ध राख्ने नेपालका प्रसिद्ध बौद्धभिक्षु अमृतानन्दलगायत नेपाली भिक्षुहरुलाई कैयौंपल्ट मास्कोमा स्वागत गरेकी थिइन् । दिवंगत भिक्षुअमृतानन्दसंग म सन् १९६१ देखि नै परिचित थिएँ र उनी मास्को आउँदा हरेकपल्ट मेरो लागि बुद्धधर्मविषयक आप्mनो नयाँ पुस्तक पनि उपहार लिएर आउने गर्दथे । यसै क्रममा सोभियत संघको यात्रामा आएका नेपालका भिक्षुद्वय (भिक्षु सुदर्शन तथा भिक्षु मैत्रेय) संग पनि मेरो भेट–परिचय भएको थियो ।
कैयौं वर्षदेखि मास्कोमा पहिलो बौद्धविहारको निर्माण गर्ने कार्यमा मास्को बौद्ध समाजकी अध्यक्ष डोल्मा शाग्दारोभा संलग्न रहेकी छन् । मसंगको एक भेटमा उनले रुसको राजधानीमा बौद्धविहारको औचित्यबारे अंशतः भनेकी थिइन् ः ‘बुद्धधर्म एउटा प्राचीनतम विश्वधर्म हो र रुस महासंघको पनि यो एक परम्परागत धर्म हो । वर्तमान समयमा रुसमा बुद्धधर्म विकासको पथबाट अगाडि लम्किरहेको छ र बौद्ध समाजहरु गठन गरिनुका साथै बौद्धमन्दिरहरुको पनि निर्माण हुन थालेको छ’ ।
उनले यसो भनिरहँदा मलाई बीसौ शताब्दीको आरम्भमै जारकालीन रुसको राजधानी सेन्ट–पिटर्सबर्गमा अस्तित्वमा आएको यूरोपकै सबभन्दा पहिलो र विशाल बौद्धविहारको अवलोकन गरेको सम्झना भइरहेको थियो । हामी नेपालीहरुको निमित्त मास्कोमा बौद्धमन्दिर नहुनु निकै खट्किरहेको छ, यद्धपि बुद्धधर्माबलम्बीहरुले निजी रुपमा सामान्य घरमा प्रार्थनाकक्ष संचालन गरेका छन् । केही वर्षअघि बु¥यातियाका प्रतिनिधि लामाभिक्षुको निवासस्थानमा पनि बुद्धको प्रतिमा राखिएको यस्तो प्रार्थनाकक्षमा म पुगेको थिएँ । यसै परिप्रेक्ष्यमा कालुगा अञ्चलमा सन् २०११ मा निर्मित नेपाली घरको प्राङ्गणमा नेपालबाटै ल्याइएको प्रस्तरबाट बनेको बौद्धचैत्य रहेको छ भन्ने पनि नेपाली पाठकवृन्दलाई सूचित गर्न चाहन्छु ।
मास्को बौेद्ध समाजको तत्परतामा अब निकट भविष्यमै मास्कोको उत्तर–पूर्वी क्षेत्रअन्तर्गत ओत्राद्नोए इलाकाको नोभोभ्लादिकिन्स्की मार्गमा एउटा बौद्धविहार देखापर्ने सम्भावनाले अपार हर्षको अनुभव भइरहेको छ । यस बौद्धविहारका नजिकै क्रियाशील अर्थाडक्स चर्च रहेको छ भने आसपासमै दुईटा इस्लाम मस्जीद, एउटा यहूदी सेनागोग पनि रहेका छन् । यसप्रकार मास्कोको यो इलाका विश्वका चारै परम्परागत धर्महरुको संगमस्थल बन्ने छ । रुसको राजधानीको एक बौद्धिक तथा सांस्कृतिक केन्द्रको रुपमा निर्माण गरिने भावी बौद्धविहारको नक्सा तयार भई निर्माणका लागि अनुमति समेत प्राप्त भइसकेको छ र साढे अठार मिटर अग्लो तीनतले यस बौद्धविहारको कुल क्षेत्रफल ३०७९ वर्गमीटर हुनेछ । त्यहाँ पूजापाठ गर्ने कक्ष मात्र रहने नभई न्यासध्यानकक्ष, सांस्कृतिक अध्ययन तथा शिक्षणकक्ष, पुस्तकालय, प्राच्यचिकित्साकेन्द्र, भोजनालय आदि पनि रहने छन् । के पनि उल्लेखनीय छ भने त्यहाँ निर्माणधीन बौद्धविहारले हीनयान, महायान, बज्रयान अर्थात् बुद्धधर्मका सबै सम्प्रदायहरुको साझा बौद्धमन्दिरको रुप लिनेछ ।
के पनि बताई हालौं भने सन् २००० मा मास्कोका मेयरको निर्णयअनुसार प्रदान गरिएको जग्गामा बौद्धविहार निर्माण गर्ने योजनालाई दलाई लामाद्वारा आशिर्वाद प्रदान गरिएको थियो । तर कर्मचारीतन्त्रको लामो भ्mयाउलो पार गरिएपछि सन् २०१४ को अक्टोबर महिनामा मात्र मास्कोमा बौद्धविहारको निर्माण गर्ने अनुमति प्राप्त भएको थियो । यस छोटो अवधिमा मास्को बौद्ध समाजकी अध्यक्ष डोल्मा शाग्दारोभाको सक्रियताको परिणामस्वरुप नयाँ बौद्धविहार अस्तित्वमा आउने दिन अब टाढा छैन भन्न सकिन्छ ।
यही १४ मेईको झरीवर्षायुक्त शुभमुहूर्तमा मास्कोको ओत्राद्नोए इलाकामा बौद्धमन्दिरको निर्माणको शुभारम्भ समारोहमा रुसका प्रसिद्ध जनकलाकार इओसिफ कोब्जोन तथा मास्को बौद्ध समाजकी अध्यक्ष डोल्मा शग्दारोभासहित त्यहाँ उपस्थित सबैले भावी बौद्धस्तुपको निर्माणार्थ जग खन्ने कार्यमा भाग लिएका थिए । मास्कोमा बौद्धविहारको निर्माणको शुभारम्भमा इओसिफ कोब्जोनको उपस्थितिको महत्वबारे प्रकाश पार्दै मास्को बौद्ध समाजका उपाध्यक्ष कन्स्तान्तिन जिम्बिनोभले व्यक्त गरेका थिए ः ‘बौद्धविहारको निर्माणसित सम्बन्धित सबै प्रश्नहरुको समाधानमा जनकलाकार इओसिफ कोब्जोनले गहकिलो योगदान पु¥याएका थिए’ ।
मास्कोमा बौद्धविहारको निर्माणका लागि जग खन्ने कार्य आरम्भ गर्नुभन्दा पहिले काल्मिकियाको केन्द्रीय हुरालका लामाभिक्षुहरुले निर्माणकार्यको सफलताको लागि प्रार्थना नर्दै परम्परागत विधिअनुसार पूजापाठ सम्पन्न गरेका थिए । सर्वप्रथम १३ मिटर अग्लो बौद्धस्तुपको निर्माण गर्ने योजना रहेको छ । त्यसपछि सानो मन्दिरको निर्माण थालिने छ र अन्त्यमा तीन हजार वर्गमिटर क्षेत्रफल भएको विशाल विहार बनाइने योजना छ ।
रुसका प्रमुख चार धर्महरुमध्ये बौद्धमार्गीहरुको मात्र मास्कोमा कुनै मन्दिर नभएको परिप्रेक्ष्यमा सन् २०१७ को अन्त्यसम्ममा निर्माण पूरा गर्ने योजना रहेको यस बौद्धविहारको विशेष महत्व हुन्छ । बौद्धमार्गीहरुका लागि मात्र नभई अन्य धर्माबलम्बीहरुका लागि समेत खुला रहने मास्कोको यो बौद्धविहार अन्तरजातीय र अन्तरधार्मिक सहिष्णुता र मित्रताको प्रतीक बन्ने छ । बुद्धको जन्मभूमिमा जन्मने सौभाग्य पाउने हामी नेपालीहरुका लागि मित्रराष्ट्र रुसको राजधानीमा बौद्धस्तुपसहित बौद्धविहार निर्माणको शुभारम्भ भएकोमा अपार हर्षको अनुभव हुनु स्वाभाविकै हो ।
मास्को, रुस महासंघ ।
प्रतिक्रिया