गर्मीले जनजीवन प्रभावित

इनेप्लिज २०७२ जेठ १४ गते ४:५० मा प्रकाशित

Garmiधनगढी, १४ जेठ । तीन हप्तादेखि बढ्दै गएको गर्मीका कारण कैलालीलगायतका जिल्लाको जनजीवन नराम्रोसँग प्रभावित भएका छन् ।

सुख्खा मौसमसहित बढेको प्रचण्ड गर्मीका कारण खासगरी विद्यालयका बालबालिका, दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्ने मजदुर र वृद्धवृद्धा बढी प्रभावित भएका हुन् ।

गर्मीसँगै मध्याह्नको समयमा चल्ने तातो हावा (लु)का कारण स्थानीय बजारमा सर्वसाधारणको चहलपहल पनि घटेको मात्र नभई दिउँसो समयमा कतिपय पसलसमेत बन्द हुने गरेका छन् ।

गर्मी बढेसँगै जिल्लाका स्वास्थ्य संस्थामा झाडापखाला, रिङ्गटा लाग्ने, वाकवाकी हुने, टाउको दुख्ने, ज्वरो आउने, बेहोस हुने बिरामीको सङ्ख्या बढ्न थालेको सेती अञ्चल अस्पताल आकस्मिक कक्षले जनाएको छ ।

गर्मी मौसममा मानिसको शरीरमा रहेको पानी पसिनाको रुपमा बाहिर निस्किने भएकाले नियमित रुपमा बढी झोलयुक्त खानेकुरा खान र स्वच्छ पानी पिउनु पर्ने सल्लाह स्वास्थ्यकर्मीको छ ।

कैलाली, कञ्चनपुरलगायतका जिल्लामा हुने प्रचण्ड गर्मीका कारण सरकारी तथा निजी विद्यालयमा अध्ययन अध्यापन वैशाख महिनादेखिनै दिउँसोको सट्टा बिहानको समयमा हुने गरेको छ ।

गर्मी बढ्दै जाँदा स्थानीय बजारमा उखुको जुस, खरभुजा, काँक्रो, चिसो पेय पदार्थ जस्ता वस्तुको व्यापार भने ह्वात्तै बढेको व्यापारीले बताएका छन् ।

गर्मीले आहत हुन थालेका कतिपय सर्वसाधारण गर्मी छल्नका लागि दिउँसोको समयमा कैलाली जिल्लाको चुरे पहाडमा रहेको चिसो मौसमयुक्त खानीडाँडा र बूढीतोलासम्म पुग्ने गरेका देखिन्छन् ।

स्थानीय जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय अत्तरियाका नायव मौसम विज्ञान सहायक सिङ्गल चौधरीले केही हप्तादेखि हावामा पानीको मात्रा(सापेक्षिक आद्रता) बढ्दै गएको कारण चर्को गर्मी महसुस भएको बताउनुभयो ।

यस क्षेत्रमा हिजोआज अधिकतम तापक्रम ४२ डिग्री सेल्सियस र न्यूनतम तापक्रम २४ डिग्री सेल्सियसको आसपास रहेको छ ।

प्रतिक्रिया