देवघाटमा १२ करोड बराबरको क्षति

इनेप्लिज २०७२ जेठ १४ गते ४:१४ मा प्रकाशित

Dev-Ghat-finelचितवन, १४ जेठ । पवित्रा तीर्थस्थल देवघाटधाममा हालै आएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पनका कारण रु १२ करोडभन्दा बढीको क्षति भएको छ ।

देवघाटधाममा निर्माण गरिएको आश्रम, मन्दिर, विद्यालय र घरमा निकै ठूलो क्षति भएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शैलेन्द्रकुमार पियाले बताउनुभयो ।

देवघाटमा निर्माण कार्यमा नजिकैको नारायणी र काली नदीको बालुवा प्रयोग गर्ने र बालुवाको गुणस्तर कमसल भएकाले समस्या आएको पियाको भनाइ छ ।

भूकम्पका कारण हरिहर, इन्दिरा, गलेश्वर र महेश आश्रम, मणिमुकुन्देश्वर चक्रवर्ती मन्दिर र तीन वटा विद्यालयमा क्षति पुगेको छ ।

त्यसैगरी देवघाट क्षेत्रभित्र रहेका १०० घर पूर्णरुपमा क्षतिग्रस्त भएका र ३५८ घरमा सामान्य क्षति पुगेको उहाँले बताउनुभयो । क्षतिका विषयमा जिल्ला प्रशासन कार्यालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्राचार गरिसकिएको समितिका सदस्य टङ्कनाथ पौडेलले बताउनुभयो ।

दाताको सहयोगमा बनेका आश्रम र मन्दिर कसरी निर्माण गर्ने भन्ने विषयमा छलफल भइरहेको छ । सो क्षेत्रको हिजो मात्रै सोही क्षेत्रका सभासद्समेत रहनुभएका नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले निरीक्षण गरी राज्यका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको अध्यक्ष पियाले बताउनुभयो ।

सरकारी तवरबाट सहयोग प्राप्त नभएमा त्यहाँ आश्रित र अध्ययनरत विद्यार्थीको पठनपाठन सञ्चालनमा समेत कठिनाइ पर्ने बताइएको छ ।

प्रतिक्रिया