एकीकृत घुम्ती शिविर सम्पन्न

इनेप्लिज २०७२ जेठ १३ गते ४:४७ मा प्रकाशित

गुलरिया (बर्दिया), १३ जेठ । बर्दियाको अतिविकट मानिने पशुपतिनगर गाविसमा सञ्चालित दुईदिने एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ ।

बर्दियाको कर्णाली, गेरुवा नदी पारी रहेका खैरीचन्दनपुर, मनाउ, गोला, पाताभार र पशुपतिनगर गाविसका जनतालाई उनीहरुकै घरदैलोमा पुगेर सेवा दिइएको थियो ।

शिविरबाट नागरिकता सिफारिस, अपाङ्ग परिचयपत्र, जनजाति सिफारिस, विवाह दर्ता, माटो परीक्षण, बाढी प्रभावित किसानलाई निःशुल्क धानको बिउ वितरण, स्वास्थ्य उपचार तथा औषधि वितरण, फोटोसहितको मतदाता नामावली दर्ता, सामुदायिक प्रहरीसम्बन्धी अभिमुखीकरण, पशु उपचार तथा औषधि वितरणलगायत सेवा प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुँवरले जानकारी दिनुभयो ।

सो शिविरबाट करिब चार हजारले सेवा लिएका थिए ।

प्रतिक्रिया