म्याग्दीका हजार घरधुरी पहिरोको उच्च जोखिममा

इनेप्लिज २०७२ जेठ १३ गते ४:४६ मा प्रकाशित

Myagdi_district_locationम्याग्दी, १३ जेठ । भूकम्प र त्यसपछिको पराकम्पनबाट म्याग्दीका १४ गाविसका हजार घरधुरी पहिरोको उच्च जोखिममा परेका छन् ।

जिल्ला भूसंरक्षण कार्यालयले गरेको एक अध्ययनअनुसार गुर्जा, मुदी, लुलाङ, बेगखोला, निस्कोट, पात्लेखेत, भुरुङतातोपानी, नारच्याङ, कुइनेमङ्गले, पुलाचौर, ओखरबोट, पाखापानी, भकिम्ली र बरङ्जा गाविसका एकहजार घरधुरी जोखिममा परेका हुन् ।

वर्षा सुरु नहँुदै पहिरो जान थालेकाले समयमै सर्तकता अपनाउनुपर्ने जिल्ला भूसंरक्षण अधिकृत दीवाकर पौडेलले बताउनुभयो । उहाँले पहिरोको उच्च जोखिम रहेका स्थानमा पूर्वसतकता अपनाउन सकेमा मात्रै मानवीय क्षति हुनबाट जोगिन सकिने भएकाले पहिरोको जोखिमयुक्त क्षेत्रमा यसबारे सचेत गराइएको जानकारी दिनुभयो ।

भिरालो ठाउँमा भूमिगत पानीका मुहान, राहुघाट, कालीगण्डकी र म्याग्दी नदी गहिरिँदै जानु र अवैज्ञानिक तवरले खनिने सडकका कारण म्याग्दी जिल्लालाई पहिरोको दृष्टिले देशकै जोखिमयुक्त क्षेत्रमा राखिएको छ ।

दुई नदीको किनारमा अवस्थित बेनीबजार देशकै पाँचौ जोखिमयुक्त सदरमुकामभित्र पर्छ ।

पुलाचौरको चिप्लेटी, पात्लेखेतको बान्द्रेखाल्टा, निस्कोटको निस्कोट गाउँ, भकिम्लीको तोराखेत, बरङ्जाको वडा नं १, २ र ३, कुइनेमङ्गलेको वडा नं १, २, ३, ४ र ५ मा निरन्तर पहिरो जाँदा त्यहाँका बस्ती पनि जोखिममा छन् ।

वर्षायाममा जिल्लामा बाढीपहिरोको प्रकोप नै आउन खतरा बढेकाले सर्तक हुनुपर्ने जिल्ला प्राविधिक कार्यालय इन्जिनियर हर्ष गुरुङले बताउनुभयो ।

प्रतिक्रिया