विपत्तिलाई सामना गर्न राष्ट्रिय सरकार गठन गर्नुपर्छ: महामन्त्री गुरुङ

इनेप्लिज २०७२ जेठ १२ गते १५:३१ मा प्रकाशित

chandra-bahadur-gurungकाठमाडौँ, १२ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङले विनाशकारी भूकम्पले मुलुकमा ल्याएको विपत्तिलाई सामना गर्न सबै दलको सहभागितामा राष्ट्रिय सरकार गठन गर्नुपर्ने बताउनुभएको छ ।

पार्टीले आज यहाँ आयोजना गरेको कार्यक्रममा महामन्त्री गुरुङले भूकम्पपीडितलाई उद्धार तथा राहत वितरणमा सरकारले सशक्त भूमिका खेल्न नसकेकाले अन्तर्राष्ट्रिय समुदायबाट सरकारप्रति विश्वास घटेको आरोप लगाउनुभयो ।

यसैबीच सो पार्टीले भूकम्पमा मृत्यु भएकाको आत्माको शान्तिको लागि यही जेठ १७ गते बनकालीमा ‘भूकम्प शान्ति महायज्ञ’ गर्ने निर्णय गरेको छ । ओमकार परिवारभित्रका धर्मगुरुको सहभागितामा हुने सो महायज्ञमा १०८ ब्राम्हण, सोही सङ्ख्यामा बौद्ध तथा किरात धर्म गुरुले अनुष्ठान गर्ने छन् ।

सो पार्टीका धार्मिक संस्कृति समन्वय विभागका प्रमुख डां लोकराज पौडेलका अनुसार उक्त महायज्ञमा श्रीमद् भागवत, वेद, लघु रुद्री, चण्डी पाठ, नवग्रह पूजन, सवा लाख महामृत्युन्जय मन्त्र पाठ गरिने
छ । त्यस्तै दुई करोड ६५ लाख दीप प्रज्वलन तथा हवन गरिने छ ।

प्रतिक्रिया