नवलपरासी, १२ जेठ । उजाड हुने गरी खरिया फँडानीमा व्यस्त हुने सहवीर सारुलाई अहिले अम्रिसोको कुचो बनाउन भ्याइ नभ्याइ छ । कुनै समयमा सारुले जङ्गलको खोरिया फाँडेरै दिन बिताउनुहुन्थ्यो । कुचोबाट आम्दानी हुन थालेपछि उहाँको दैनिकी फेरिएको मात्रै होइन । गुजारा चलाउनसमेत सहज भएको छ ।
वार्षिक रु ७० हजारभन्दा बढी आम्दानी गर्ने सारु अहिले बिहानदेखि बेलुकासम्म कुचो बनाउनमै व्यस्त रहनुहुन्छ । उहाँले १० देखि ११ रोपनी क्षेत्रफलमा अम्रिसो लगाउनुभएको छ ।
सारु जस्तै चन्दबहादुर राना पनि खरिया फँडानी छोडेर अम्रिसो खेतीमा लाग्नुभएको छ । प्रतिपरिवारले १० रोपनी क्षेत्रफलमा अम्रिसो लगाएका छन् । बारीको आली, बाटोको छेउछाउ, घरको वरिपरि अम्रिसो लगाइएको छ । विगतका दिन सम्झँदै चन्द्रबहादुर भन्नुहुन्छ, “खान लाउन समस्या थियो, अम्रिसोले त्यो समस्या टारेको छ ।” विसं २०५२ देखि उहाँले अम्रिसो लगाउन थाल्नुभएको हो ।
नवलपरासीको पहाडी गाविसका केही स्थानमा अम्रिसो खेती फस्टाउँदै गएको छ । बहुउपयोगी अम्रिसो आम्दानीको प्रमुख आयस्रोत बनेको छ । अम्रिसो लगाएपछि अरुलाई जस्तै धेरै समय दिन नपर्ने, थोरै लगानीमा राम्रो आम्दानी हुने भएपछि किसानको आकर्षण बढेको हो । कुचो मात्र होइन, घा“स र दाउरा पनि हुने भएकाले अम्रिसो लगाउने गरिएको छ ।
तयार भएको अम्रिसोको कुचो लिन व्यापारीहरु गाउँमै गाडी लिएर आउने भएकाले बजारको कुनै समस्या छैन । अम्रिसो घा“सका रुपमा पनि प्रयोग हुने भएकाले पशुपालनमा समेत सहयोग पुगेको छ । दाउराका रुपमा प्रयोग गर्न सकिने भएपछि वन फँडानी रोकिएको कृषक बताउँछन् । अम्रिसोबाट भूक्षयलाई नियन्त्रण गर्न सहयोग पुग्छ ।
प्रतिक्रिया