पश्चिमी सिमानाका गड्डाचौकीबाट पाँच महिलाको उद्धार

इनेप्लिज २०७२ जेठ १२ गते ३:२० मा प्रकाशित

938f73433148_worriedwoman-300x170कञ्चनपुर, १२ जेठ । पश्चिमी सिमानाका गड्डाचौकीबाट सोमबार साँझ भारततर्फ जान लागेका पाँच महिलाको उद्धार गरिएको छ ।

वैदेशिक रोजगारीका लागि किर्गिस्तान जान भन्दै पोखरा–दिल्लीको बसमा आएका पाँच जनाको पश्चिमी सीमा नाका गड्डाचौकीबाट उद्धार गरिएको हो । उद्धार गरिएकामा एक बालिकासमेत रहेकी छिन् ।

भारतीय राजधानी दिल्लीबाट किर्गिस्तान जाने जानकारी गराएपछि पाँचैजनालाई उद्धार गरिएको माइती नेपालकी संयोजक महेश्वरी भट्टले बताउनुभयो । माइती नेपालको आवधिक गृहमा राखिएका उनीहरुमध्ये दुई जनासित नागरिकता र राहदानी भेटिएको छ । अन्य तीनसित नागरिकतासमेत नभएको संयोजक भट्टले बताउनुभयो ।

“किर्गिस्तान जाने बहानामा भारतमा बिक्री गर्ने गिरोहले बोलाएको हुनसक्छ”– संयोजक भट्टले भन्नुभयो–“उनीहरुलाई दिल्लीसम्म मगाउन किर्गिस्तानको बहाना गरिएको हुन सक्छ ।” किर्गिस्तान जान आएका दुई युवतीले दलाललाई रु ५०/५० हजार बुझाएका छन् । उनीहरुले आफूलाई भारत पठाउने व्यक्तिसित चिनजान नभएको बताएका छन् ।

“दिल्लीसम्म आउनु, त्यहीँबाट किर्गिस्तान जाने भनेर बोलाएको हो, तर त्यो पठाउने व्यक्तिबारे उनीहरुले केही थाहा छैन भनेका छन्”–संयोजक भट्टले भन्नुभयो । माइती नेपालका अनुसार उद्धार गरिएका महिलामा स्याङ्जा, पर्वत र कास्की रहेका छन् ।

प्रतिक्रिया