नेता पौडेलको नेतृत्वमा टहरा निर्माण

इनेप्लिज २०७२ जेठ ११ गते १४:३० मा प्रकाशित

Bishnu-Paudel(1)ललितपुर, ११ जेठ । नेकपा (एमाले) का उपमहासचिव विष्णु पौडेलको नेतृत्वमा आज चापागाउँ–८ डाँडागाउँ र बुङ्मती क्षेत्रमा खतरामा रहेका घरहरूलाई भत्काउने कार्यको थालनी भएको छ ।

उहाँको नेतृत्वमा भूकम्पपीडितका लागि अस्थायी आवास तथा भवन निर्माण गर्ने उद्देश्यले श्रम अभियानलाई अगाडि बढाइएको एमाले जिल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले बताउनुभयो ।

नेता पौडेलको नेतृत्वमा करिब एक दर्जन टहरा निर्माण भएको उहाँले बताउनुभयो । एकीकृतरुपमा परिचालित स्वयम्सेवकले बाँस र जस्तापाताबाट तयार हुने अस्थायी टहरो निर्माणमा जुटेका थिए ।

उक्त कार्यमा सहयोग गर्न केन्द्रीय कमिटीबाट जिल्लामा एकसय जनाको युवा दस्ता परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । अस्थायी बासस्थान तथा क्षतिग्रस्त घर भत्काउने कार्यमा भ्रातृ सङ्गठनलाई समेत परिचालन गरिएको छ

क्षतिग्रस्त घर भत्काउन र टहरा निर्माणमा तीनवटै क्षेत्रका अध्यक्ष क्रमशः १, २ र ३ मा चेतनाथ सञ्जेल, प्रेम महर्जन र रघुनाथ महर्जनको संयोजकत्वमा छुट्टाछुट्टै स्वयम्सेवक दस्ता तयार पारिएको जनाइएको छ ।

भूकम्पका कारण जिल्लामा १८१ जनाले ज्यान गुमाउनु परेको छ भने तीन हजार घाइते भएका छन् । क्षतिग्रस्त घरको सङ्ख्या करिब २२ हजार छ ।

प्रतिक्रिया