कालीगण्डकीबाट विद्युत् उत्पादन सुरु

इनेप्लिज २०७२ जेठ ११ गते १४:१५ मा प्रकाशित

fffffकास्की, ११ जेठ । पहिराले कालीगण्डकीको बहाव रोकिएपछि आइतबारदेखि बन्द कालीगण्डकी ए जलविद्युत् परियोजनाले आज अपराह्न ३ः०० बजेदेखि पुनः विद्युत् उत्पादन सुरु गरेको छ ।

स्याङ्जाको मिर्मीमा रहेको जलाशयमा पानी भरिएपछि आज विद्युत्् उत्पादन पुनः सुरु गरिएको परियोजना प्रमुख श्रीराम पाण्डेले जानकारी दिनुभयो । “कालीगण्डकीको जलाशयमा १४० क्युमेक (क्युबिक सेमी) पानी जम्मा भएपछि हामीले उत्पादन थाल्यौँ” उहाँले भन्नुभयो “अहिले विद्युत््गृहबाट १२० मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।” कालीगण्डकीको उत्पादन क्षमता १४४ मेगावाट हो ।

म्याग्दीको राम्चे–९, काफलडाँडामा पहिराले कालीगण्डकीको बहाव रोकेलगत्तै विद्युत्गृहले सम्भावित खतरालाई ध्यान दिएर विद्युत् उत्पादन बन्द गरेको थियो । परियोजना प्रमुख पाण्डेका अनुसार कालीगण्डकी थुनिएको थाहा पाउनासाथ बिहानै जलाशयमा जम्मा भएको पानी प्रयोग गर्दै १४४ मेगावाट नै विद्युत् उत्पादन गरी जलाशय खाली गराइएको थियो । सम्भावित बाढीलाई ध्यानमा दिई जलाशय खाली गराइए पनि त्यस्तो अप्रिय घटना भने भएन । नदीले पुरानै रुप लिए पनि खाली भएको जलाशय भरिन समय लागेको थियो । नदीको बहावसमेत सामान्य बनेपछि आज दिउँसोदेखि मात्र विद्युत् उत्पादन थालिएको हो ।

पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले पनि परियोजनाको जलाशयमा पानी भरिएपछि उत्पादन पुनःसञ्चालन भएको जानकारी दिनुभयो । कालीगण्डकीको बहाव सामान्य भएकाले जलाशय तथा विद्युत् उत्पादनमा कुनै समस्या नआउने उहाँको भनाइ छ ।

कालीगण्डकी ए जलविद्युत् परियोजनाबाट २०६९ सालदेखि विद्युत् उत्पादन सुरु भएको हो । पोखराबाट एक सय किमी पश्चिमतिर रहेको सो परियोजनामा तीन टर्बाइनबाट विद्युत् उत्पादन हुन्छ । रु ५० अर्बको लागतमा सो परियोजना निर्माण भएको हो । यो नेपालकै पहिलो ठूलो जलविद्युत् परियाजना हो ।

प्रतिक्रिया