छलफलमा मात्रै होइन काममा पनि जुटौँ: उपसभापति पौडेल

इनेप्लिज २०७२ जेठ १० गते १४:११ मा प्रकाशित

ramchandra-paudelकाठमाडौँ, १० जेठ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले छलफलभन्दा काम गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

बिपी चिन्तन प्रतिष्ठानले आज काठमाडौँमा आयोजना गरेको भूकम्पीय दुष्प्रभावसम्बन्धी कार्यक्रममा उहाँले छलफल र कामलाई सँगसँगै अगाडी बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले सरकारले गरेका काम कारबाहीका बारेमा छलफल र आलोचना मात्रै धेरै भएको भन्दै आलोचना गर्नभन्दा काममै लाग्नु बुद्धिमानी हुने टिप्पणी गर्नुभयो । छलफल गर्न र सुझाव दिन जति सजिलो छ काम गर्न त्यतिले गाह्रो छ, उपसभापति पौडेलले भन्नुभयो ।

सुझाव दिनेले पनि आदर्श र अमूर्त सुझाव दिनुभन्दा व्यावहारिक र सृजनात्मक सुझाव दिन उहाँले आग्रह गर्नुभयो । उहाँले सात ‘स’ लाई ध्यानमा राखेर नवनिर्माण गर्ने अभियान चलाउन सबैलाई आग्रह गर्नुभयो ।

सात ‘स’ भन्नाले सस्तो, सुलभ, सुरक्षित, स्वस्छ, सजिलो, सशक्त र सुन्दर हुने उपसभापति पौडेलले प्रष्ट पार्नुभयो । उहाँले एकीकृत बस्ती विकास गर्न सकेमा मात्रै जनताले दिगो विकासको अनुभव गर्न पाउने तर्क गर्नुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्णचन्द्र नेपालीले भूकम्पले निम्त्याएको विपत्तिलाई अवसर र चुनौतीका रुपमा लिएर नव निर्माणमा जुट्नुपर्छ भन्नुभयो ।

प्रतिक्रिया