भूकम्प प्रभावित १६ जिल्लामा काँग्रेसको ‘हाम्रो श्रमदान’ अभियान

इनेप्लिज २०७२ जेठ १० गते १४:०० मा प्रकाशित

gaganकाठमाडौँ, १० जेठ । भूकम्पबाट प्रभावित १६ जिल्लामा नेपाली काँग्रेसले ‘हाम्रो श्रमदान’ अभियान सञ्चालन गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमा काभ्रेपलाञ्चोक, रामेछाप, धादिङ, गोरखा, सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली, दोलखा, लमजुङ, ओखलढुङ्गा, सोलुखुम्बु, नुवाकोट, रसुवा, स्याङ्जा, पर्वत र तनहुँमा अभियान सञ्चालन हुने जानकारी दिइयो ।

प्रभावित जिल्लामा दुई केन्द्रीय सदस्यको नेतृत्वमा अभियान सञ्चालन गर्न लागिएको उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो । “श्रमको सम्मान गर्नु नै समाजवाद भएकाले सबैले मातृभूमिको माटोमा हात डुबाई निर्माण कार्यमा जुट्नुपर्छ, अस्थायी भएपनि वर्षा धान्ने गरी भरपर्दो बासस्थान बनाउन कार्यकर्ता परिचालन गरिन लागेको हो”–उहाँले भन्नुभयो ।

परम्परागत प्रशासनिक संरचनाबाट सङ्कटको सामना गर्न नसकिने भएकाले सबै कार्यालयको अधिकार प्रयोग गर्न सक्ने गरी अधिकार सम्पन्न संयन्त्र निर्माण छिटो गर्न पनि उहाँले माग गर्नुभयो । जिल्लामा खटिने केन्द्रीय सदस्यलाई उपसभापति पौडेलले औजार र सुरक्षा कवच दिएर बिदाई गर्नुभएको थियो ।

सरकारले दिएको रु १५ हजारबाट किनिएको जस्तापाता उपयोग गरेर अस्थायी आवास निर्माणमा कार्यकर्ता परिचालन गर्न लागिएको काँग्रेसले जनाएको छ ।

प्रवक्ता दीलेन्द्रप्रसाद बडूले प्रभावित पहाडी जिल्लामा तराईका जिल्लाबाट कार्यकर्ता परिचालन गरी अस्थायी आवास निर्माण गर्न लागिएको बताउनुभयो । “सिकर्मी, डकर्मीको ज्ञान भएका दुई इन्जिनियरको व्यवस्था लोकतान्त्रिक इन्जिनियरिङ सङ्घबाट भएको छ, विपत्मा परेका जिल्लामा बोझ नहुने गरी गास, बासको व्यवस्था आफैँ गर्ने गरी परिचालित कार्यकर्ताले काम गर्नेछन्”–उहाँले भन्नुभयो ।

अभियानका लागि लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घले हेल्मेट र ज्याकेटको व्यवस्था गरिदिएको सो अवसरमा जानकारी गराइएको थियो ।

काठमाडौँ उपत्यकामा भने यहीँको जनशक्ति उपयोग गरी अस्थायी संरचना निर्माण गर्न पार्टीको खेलकुद विभागलाई जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया