सम्हालिँदै सल्यानटार

इनेप्लिज २०७२ जेठ ९ गते १०:५८ मा प्रकाशित

1-21041-1-Hattipaile_salyantar-1_20150422104258गजुरी (धादिङ), ९ जेठ । विनाशकारी भूकम्पका पराकम्प कम हुँदै जाँदा यहाँको जनजीवन सामान्य बन्दै गएको छ । भूकम्पकै कारण परिवार र आफन्त गुमाएकाहरु पनि सम्हालिन थालेका छन् । कोही अस्थायी बसोबासको व्यवस्थापनमा लागेका छन् त कोही वर्षभरि खाने खेतीको स्याहार सम्भारमा जुट्न थालेका छन् ।

भूकम्पले सल्यानटार गाविसमा २२ जनाको मृत्यु भयो । धेरै जना घाइते छन् । परिवार वा आफन्त गुमाएकाहरु पनि काजकिरिया सकेर विस्तारै काममा फर्कन थालेका छन् ।

सल्यानटारको किटारमा यसअघि एउटा ठूलो घना बस्ती थियो । अहिले त्यहाँ पुग्दा एउटा खण्डहरमात्र भेटिन्छ । कुनै पनि घर बाँकी छैन । भूकम्पले गर्दा लडेको घरको छेउमा छाप्रो बनाउने र वर्षा टिक्ने गरी अस्थायी टहरा बनाउन गाउँवासी आफैँ लागेको स्थानीयवासी कृष्ण कँडेलले जानकारी दिनुभयो ।

सरकारले दिने पैसा ढिला आउने र पानी पर्न थालिसकेकाले आफूहरु बाँच्ने उपाय गर्न यसरी आफैँ लागेको उनीहरुको भनाइ छ ।

यतिबेला कोही घर ढलेर पुरिएका अन्नपात टिपटाप गरिरहेका छन् । कोही भत्केका घरहरुबाट काठ ढुङ्गाजस्ता पुराना निर्माण सामग्रीको सदुपयोग गर्दै नवनिर्माणमा लागेका छन् । भत्किएका घरको ढुङ्गा माटो पन्छाउन नसक्ने महिलाहरु आफ्नो पीडा भुल्दै खेतीपाती गोडमेलमा लागिपरेका छन् ।

सल्यानटारवासीको मुख्य बाली घैया धान हो । घर पूरै ढलेर अन्नपात निकाल्न नसके पनि गाउँमा पुगेको राहत खाएर सल्यानटारवासी अहिले घैया धान गोड्ने काममा लागेका छन् ।

गाउँँमा कामदार नहुँदा घरबासमात्रै गुमाउनेहरु पनि समस्यामा छन् । तर घरको लोग्ने मान्छे विदेशमा भएकाहरु र घर बाहिर भएकाहरु पनि छिमेकीको सहयोगमा नवनिर्माणमा लागेका छन् ।

महाविपद्पछि धेरैको मनबाट त्रास अझै हटेको छैन ।

सल्यानटारस्थित आरुघाटमा रहेको विशालनगर बजार पूरै ध्वस्त भएको छ । धादिङ गोरखाको पुरानो व्यापारिक नाकामा अहिले चहलपहल छैन । आउने जाने मानिस बस्ने होटल छैन । खानेकुरा छैन । बजारवासीले समेत राहत नपाएकाले समस्या परिरहेको छ । बजारमा कोही पनि बस्न सकेको छैन । बजारमाथि त्रिपाल टाँगेर, जस्ताले बारेर टहरा बनाउँदै विशालनगरवासी राहतको प्रतीक्षामा बसिरहेको स्थानीयवासी कमलकुमार श्रेष्ठले बताउनुभयो ।

यसअघि दिइएको एक त्रिपाल हुरीले च्यातेर टुक्राटुक्रा भइसकेकाले च्यातिएको त्रिपालमुनि बसिरहेको दृश्य यहाँ देख्न सकिन्छ ।

प्रतिक्रिया