सङ्कटग्रस्त ओखलढुङ्गामा थप त्रिपालको माग

इनेप्लिज २०७२ जेठ ९ गते ३:४९ मा प्रकाशित

Okhaldhunga_district_locationविराटनगर, ९ जेठ । विनाशकारी भूकम्पका कारण सङ्कटग्रस्त घोषित ओखलढुङ्गा जिल्लामा तत्काल खाद्यान्नको अभाव नभए पनि थप त्रिपालको आवश्यकता महसुस गरिएको छ ।

पीडितलाई त्रिपालमा बास बस्नुपर्ने बाध्यता र चौपायालाई समेत त्रिपालमै राख्नुपर्ने भएकाले थप त्रिपालको माग गरिएको जिल्ला दैवीप्रकोप उद्धार समिति, ओखलढुङ्गाले जनाएको छ ।

कतिपय सङ्घसंस्थाबाट वितरण गरिएका छ फिट लम्बाइ÷चौडाइका साना आकारका त्रिपालमा एक परिवारका सम्पूर्ण सदस्य अटाउन नसक्ने अवस्थाको कारणले पनि थप त्रिपालको माग गरिएको हो ।

नेपाल सरकार र विभिन्न सङ्घसंस्थाबाट प्राप्त १७ हजार ७९० वटा त्रिपालमध्ये १५ हजार ६४१ थान वितरण गरिएको छ । वर्षाको मौसममा सुरक्षित साथ बस्न र चौपायालाई राख्न पीडित परिवारले थप एक÷एक थान त्रिपाल माग गरेका हुन् ।

यस सम्बन्धमा सहायक प्रजिअ गुणराज भट्टराईले केन्द्रीय दैवीप्रकोप उद्धार समितिबाट थप १० हजार त्रिपालको माग गरिएको बताउनुभयो ।

ओखलढुङ्गामा २० हजारभन्दा बढी घरबारविहीन अवस्थामा छन् । प्रायः प्रत्येक परिवारलाई एक÷एक थान त्रिपाल उपलब्ध गराइएको छ । यसका साथै छ हजार ४१० थान प्राप्त भएका कम्बलबाट पाँच हजार ६४३ थान वितरण गरिएको उहाँले जानकारी गराउनुभयो ।

ओखलढुङ्गाका भूकम्पपीडित परिवारका लागि प्राप्त एक लाख ७७ हजार १९५ किलो चामलमध्ये ७७ हजार ९९० किलो र २० हजार ५२८ किलो च्युरामध्येबाट आठ हजार ५९१ किलो वितरण गरिसकिएको सहायक प्रजिअ भट्टराईले बताउनुभयो ।

पचास गाविस र एक नगरपालिका रहेको यस जिल्लामा वैशाख १२ गतेको विनाशकारी भूकम्पमा १० हजार ४५० वटा घर पूर्णरुपमा क्षति भएको थियो भने १० हजार ५०० घरमा आंशिक क्षति भएको थियो । पूर्णरुपले क्षति भएका घरपरिवारलाई रु पाँच हजारका दरले वितरण गरिसकिएको छ ।

यस सम्बन्धमा पूर्वाञ्चलका निमित्त क्षेत्रीय प्रशासक कालीप्रसाद पराजुलीले पूर्वाञ्चलमा भूकम्प प्रभावित जिल्लामा खाद्यान्नको अभाव नरहेको बताउनुभयो ।

बङ्गलादेशबाट प्राप्त १० हजार मेट्रिक टन चामल यतिखेर झापाका गोदाममा सुरक्षित साथ राखिएको छ । आवश्यकता देखिनासाथ प्रभावित क्षेत्रमा सो चामल वितरण गरिने उहाँले बताउनुभयो ।

भूकम्पबाट अतिप्रभावित ओखलढुङ्गा, सोलुखम्बु, भोजपुर, सङ्खुवासभा, खोटाङलगायतका जिल्लाका लागि प्रत्येक जिल्लाका लागि २०÷२० मेट्रिक टन चामल उपलब्ध गराइएको उहाँले थप्नुभयो ।

प्रतिक्रिया