पुलको पिरलोले झापाको पथरियाका जनता समस्यामा

इनेप्लिज २०७२ जेठ ६ गते ११:३९ मा प्रकाशित

Jhapa_nepal-mapभद्रपुर, ६ जेठ । झापा जिल्लाको दक्षिणी क्षेत्र पथरिया गाविसको डाकुपाडाखालको पुल नबन्दा त्यस क्षेत्रका जनता चिन्तामा परेका छन् ।

घेराबारी, जलथल, बनियानी, बालुवाडीजस्ता गाविस जोड्ने यो पुल दुई वर्षअघि आएको बाढीले बगाएको थियो । बर्सातको समयमा निकै समस्या पर्ने भएकाले यस क्षेत्रका जनताले पुल बनाई दिन जिविसलाई आग्रह गरेका छन् ।

झापाको विकट मानिने पथरिया, बनियानी, घेरावारी, राजगढ र जलथल गाविसका जनताले बर्सातको समयमा नाकाबन्दीमा पर्नुका साथै राज्यबाट लिन सक्ने आकस्मिक सेवाका सबै सुविधाबाट वञ्चित हुने अवस्था रहेको नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि भूमिराज राजवंशीले जानकारी दिनुभयो ।

वर्षा लाग्ने समय हुन थालेपछि पुलको कारण सम्पर्क विच्छेद हुन गएका यी गाविसका जनता नदीमा कसरी पार हुने चिन्तामा डुबेका छन् । विकास र जनसरोकार विषय लिएर त्यस क्षेत्रका जनता, नागरिक समाज र राजनीतिक दलका प्रतिनिधिले सामूहिक रूपमा पथरिया प्रहरी चौकीमा भेला भई सञ्चारकर्मीसँग गुनासो पोखेका थिए ।

सदरमुकाम र सम्बन्धित निकायमा दुई वर्षदेखि प्रयास गर्दागर्दै पनि यो पुल नबन्दा महिला, बालबालिका, विद्यार्थी र मजदुर तथा विभिन्न व्यवसायमा लागेका मानिसलाई ठूलो समस्या पर्ने भएकाले सम्बन्धित निकायको ध्यान जाने उद्देश्यले पत्रकारलाई गुहारेको शान्ति समिति पथरियाका संयोजक बलबहादुर थापाले जानकारी दिनुभयो ।

सो अवसरमा त्यस क्षेत्रका राजनीतिक दलका प्रतिनिधि भूमिराज राजवंशी, हरिनारायण राजवंशी, हर्कबहादुर लिम्बू, लालबहादुर ढुङ्गाना, नवराज भट्टराई, शेरबहादुर खत्री र पथरिया उच्च माविका प्रधानाध्यापक रामाकान्त कर्णले पनि यो पुल बन्नुपर्नेमा जोड दिनुभयो । उपभोक्ता समितिमार्फत काम भएमा लगभग रु २५ लाखमा सम्पन्न हुने यो काम किन हुन नसकेको भनी स्थानीयवासी अन्योलमा परेका छन् ।

प्रतिक्रिया