इलामबाट एक करोड १४ लाख राहत सङ्कलन

इनेप्लिज २०७२ जेठ ६ गते १०:३३ मा प्रकाशित

ilam_nepal_mapइलाम, ६ जेठ । भूकम्पपीडितका लागि इलामबाट हालसम्ममा रु एक करोड १३ लाख ८३ हजार राहत सङ्कलन गरी पठाइएको छ ।

जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी, निर्माण व्यवसायी, सहकारीकर्मी, गैरसरकारी संस्था तथा समाजसेवीले उक्त राहत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेका हुन् ।

सरकारी कार्यालयबाट विशिष्ठ श्रेणीका कर्मचारीबाट १५ दिनको, सहसचिव तथा उपसचिवबाट १० दिनको र शाखा अधिकृतदेखि तलका कर्मचारीबाट पाँच दिनको तलब गरी जम्मा रु एक करोड १० लाख ५१ हजार ५९१ राहत कोषमा जम्मा गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय इलामले जनाएको छ ।

यस्तै, इलामका विभिन्न सङ्घसंस्था तथा व्यक्तिले भूकम्पपीडितका लागि रु तीन लाख ३२ हजार ६२२ सङ्कलन गरेर प्रधानमन्त्री राहत कोषमा पठाएका छन् ।

जिल्ला प्रशासन कार्यालयका लेखापाल भीष्म दाहालका अनुसार नेपाल रेड्क्रस सोसाइटी जिल्ला शाखामार्फत रु एक लाख ६२ हजार ५८१, निर्माण व्यवसायी सङ्घबाट रु ५० हजार १०५, नारी विकास सङ्घ क्षेत्रीय कार्यालय इलामले रु ३० हजार राहत कोषमा पठाएका छन् ।

शताब्दी बचत तथा ऋण सहकारी संस्थाले रु २५ हजार ५५५, कारागारका कैदीबन्दीले रु १५ हजार ९६५, बरबोटे निवासी समाजसेवी गोविन्द पौडेलले रु १५ हजार, महिला जागरण सङ्घले रु ११ हजार १११, लेखापढी व्यवसायी एसोसिएसनले रु १० हजार ५५५, माइबेनी कलर ल्याब इलामका रतन चौधरीले रु छ हजार ५४० र क्षेत्री ब्राह्मण समाज नेपाल, फिक्कल नगर कार्यसमितिले रु पाँच हजार १०० राहत कोषमा पठाएका छन् ।

प्रतिक्रिया