साढे दुई हजार मेट्रिक टन खाद्यान्न नष्ट

इनेप्लिज २०७२ जेठ ६ गते ४:४६ मा प्रकाशित

Chamal-Riceनगरकोट, ६ जेठ । विनाशकारी भूकम्पले भक्तपुरमा दुई हजार ६ सय सात मेट्रिक टन खाद्यान्न र ६ हजार दुई सय ४२ मेट्रिक टन तरकारी नष्ट भएको छ ।

जिल्ला कृषि विकास कार्यालय भक्तपुरका प्रमुख पूर्ण ढुंगानाका अनुसार किसानले सञ्चित गरेको धान एक हजार एक सय २५, एक हजार ६२ आलु र चार सय २० मेट्रिक टन गहुँ भूकम्पबाट नष्ट भएको सौर्य दैनिकले छापेको छ ।

त्यस्तै च्याउ उत्पादन भइरहेको एक सय ४० वटा प्लास्टिकका टनेल भूकम्पले भत्किँदा किसानको ५६ लाख रुपैयाँभन्दा बढीको नोक्सान भएको छ । सयभन्दा बढी गोलभेँडा एवं व्यावसायिक तरकारीका प्लास्टिक टनेलमा समेत भूकम्पले क्षति पु-याएको छ ।

‘यसले १० हजार व्यावसायिक किसान परिवार प्रत्यक्ष प्रभावित भएका छन्’ उनले भने । भूकम्पले पूर्ण तथा आंशिक क्षति पुगेका घरमा सर्वसाधारणले सञ्चय गरेको खाद्यान्नको भने कुनै लगत लिन नसकिएको उनले बताए । भूकम्पले भक्तपुरको सूर्यविनायक नगरपालिकामा रहेको कृषि विकास कार्यालयको भवनमा समेत क्षति पु-याएपछि कर्मचारीले टेन्टमार्पत सेवा दिइरहेका छन् ।

उनका अनुसार सरकारले जिल्लाका भूकम्पपीडित किसानलाई निःशुल्क धानको बीउसमेत दिने भएको छ । यसैबीच चितवनमा एक हजार एक सय ६० मेट्रिक टन सञ्चित खाद्यान्न क्षति भएको छ । घरमा थन्क्याएर राखिएको करिब चार करोड बराबरको खाद्यान्न क्षति भएको हो ।

जिल्ला कृषि विकास कार्यालय चितवनले दिएको जानकारी अनुसार १२ वैशाखमा आएको भूकम्पले चितवनमा ठूलो परिमाणमा खाद्यान्न क्षति भएको हो ।

जिल्लामा साढे दुई हजार घर पूर्णरूपमा क्षति भएकाले ती घरमा राखिएका खाद्यान्न क्षति भएको कार्यालयका योजना शाखाप्रमुख तथा प्रवक्ता सन्तोषराज पौडेलले बताए । अहिले किसानले पुरिएको क्षेत्रबाट बचेको खाद्यान्न निकाल्ने क्रम जारिरहेको छ ।

प्रतिक्रिया