दार्चुला तिङ्कर सडक निर्माण कार्य सन्तोषजनक

इनेप्लिज २०७२ जेठ ४ गते १:५४ मा प्रकाशित

भीमदत्तनगर, ४ जेठ । दार्चुला तिङ्कर सडकखण्डको राताकाठा क्षेत्रको निर्माण कार्य पछिल्लो समय सन्तोषजनक रहेको पाइएको छ ।

स्थलगत अनुगमन निरीक्षणपछि सो क्षेत्रको निर्माण कार्यले अपेक्षित रुपमा तीव्र गति पाएको प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुँवरले बताउनुभयो । सडक निर्माणमा ठेकेदारहरुले ढिलासुस्ती गरेको भन्दै सो क्षेत्रका नागरिकको गुनासोपछि निर्माणस्थलको निरीक्षणपश्चात् प्रजिअले निर्माण कार्य सन्तोषजनक रुपमा अगाडि बढिरहेको जानकारी दिनुभयो ।

अहिलेसम्म राताकाठा क्षेत्रमा ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको तथा आगामी जेठ तेस्रो साताभित्र ट्र्याक खोल्ने काम सम्पन्न हुने उहाँको भनाइ छ । चट्टानी भिर रहेको क्षेत्रका लागि विस्फोटक पदार्थसमेत पर्याप्त रहेकाले अझै निर्माण कार्यको गति बढाउन ठेकेदारहरुलाई प्रजिअ कुँवरले निर्देशन दिनुभएको छ ।

आर्थिक वर्ष २०६५/०६६ देखि खलङ्गा तिङ्करसम्मको १३० किलोमिटर लम्बाइ भएको सडक निर्माणका क्रममा अहिलेसम्म जम्मा ४० किलोमिटरमा मात्रै ट्र्याक खुलेको छ भने ५० किलोमिटरमा निर्माण कार्य सञ्चालन भइरहेको छ । दार्चुला–तिङ्कर सडकखण्ड निर्माणका लागि अहिलेसम्म रु दुई अर्ब १७ करोड आठ लाख ८० हजार बजेट विनियोजन भए तापनि जम्मा १४ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।

दार्चुला–तिङ्कर सडक योजनाका साथै ठेकेदारहरुको लापर्वाहीका कारण दार्चुलाको विकासे बजेट फ्रिज हुँदा जिल्लाले बर्सेनि ठूलो घाटा व्यहोर्नु परेको स्थानीय जानकारहरु बताउँछन् ।

प्रतिक्रिया