भूकम्पका कारण चार करोडको खाद्यान्न क्षति

इनेप्लिज २०७२ जेठ ४ गते १:५० मा प्रकाशित

Collapsed houses are seen in a village following Saturday's earthquake in Sindhupalchowkरत्ननगर (चितवन), ४ जेठ । भूकम्पका कारण चितवनमा एक हजार १६० मेट्रिक टन सञ्चित खाद्यान्न क्षति भएको छ । घरमा थन्क्याएर राखिएको करिब रु चार करोडबराबरको खाद्यान्न क्षति भएको जनाइएको छ ।

जिल्ला कृषि विकास कार्यालय चितवनले दिएको जानकारीअनुसार वैशाख १२ गते आएको भूकम्पले चितवनमा ठूलो परिमाणमा खाद्यान्न क्षति भएको हो । जिल्लामा साढे दुई हजार घर पूर्ण रुपमा क्षति भएकाले ती घरमा राखिएका खाद्यान्न क्षति भएको कार्यालयका योजना शाखाप्रमुख तथा प्रवक्ता सन्तोषराज पौडेलले जानकारी दिनुभयो । अहिले किसानले पुरिएको क्षेत्रबाट बचेको खाद्यान्न निकाल्ने क्रम जारी रहेको छ ।

पहिलो चरणको विवरण सङ्कलन सकिएको र अहिले दोस्रो चरणको विवरण सङ्कलनको क्रम जारी रहेको पौडेलले बताउनुभयो । चितवनमा मुख्यगरी पहाडी क्षेत्रमा भूकम्पले बढी क्षति पुर्‍याएको छ । पहाडी गाविसमा चामल, मकै, कोदा र दलहन बालीमा बढी क्षति भएको छ । जिल्लाका १४ गाविस, तीन नगरपालिका र एक महानगरपालिकामा क्षति पुगेको तथ्याङ्क छ ।

सञ्चित खाद्यान्नमध्ये चामल ६३ मेट्रिक टन क्षति भएको छ । जसको मूल्य करिब रु ३५ लाख हो । मकै ६३३ मेट्रिक टन अर्थात् रु एक करोड ६१ लाख र कोदो ४२२ मेट्रिक टन करिब रु एक करोड ६९ लाखको क्षति भएको छ ।

यस्तै दलहन बालीअन्तर्गत भटमास, बोडीलगायत बाली गरेर कुल ३१.६५ मेट्रिक टन क्षति भएको र यसको मूल्य करिब रु ३३ लाख ५५ हजार रहेको बताइएको छ ।

चितवनमा कुल ७० हजार ४४ मेट्रिक टन चामल तयार हुन्छ । यस्तै मकै ४३ हजार २४७ मेट्रिक टन उपभोगयोग्य मकै उत्पादन हुन्छ । यस्तै कोदो एक हजार ५३६ मेट्रिक टन उत्पादन हुँदै आएको छ ।

यसैबीच, जिल्लामा अहिले विभिन्न क्षेत्रमा राहत वितरणको क्रम जारी रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । समितिका अनुसार पहिलो भूकम्पले क्षति पु¥याएको विवरण प्रारम्भिक रुपमा आए पनि दोस्रो पराकम्पनले थप क्षति पु¥याएकाले विवरण आउने क्रम जारी छ । अहिलेसम्म जिल्लामा आठको ज्यान गएको छ भने सामान्य आंशिक र पूर्ण क्षति गरेर कुल १० हजार ५०० भन्दा बढी घरमा क्षति पुगेको तथ्याङ्क छ । राहत वितरण र सङ्कलनमा भने रेडक्रम सोसाइटीले काम गरिरहेको छ ।

प्रतिक्रिया