इजलास पनि पालमा

इनेप्लिज २०७२ जेठ ३ गते १४:३० मा प्रकाशित

भक्तपुर, ३ जेठ । भूकम्पका कारण ६० वर्ष पुरानो भक्तपुर जिल्ला अदालतको भवन बस्नै नमिल्ने गरी चर्किएपछि सो अदालतले आजदेखि पालमा इजलास सञ्चालन गरेको छ ।

गत वैशाख १२ गते गएको भूकम्पबाट अदालतको भवनमा क्षति पुगेपछि जिल्ला वार एसोसिएसनसँगको समन्वयमा वैशाख महिनाभरि बन्द भएको इजलास आज पालबाट सुरु भएको हो ।

अदालतका तीनैजना न्यायाधीशले अदालत भवनभित्र बसेर काम गर्न नसक्ने निर्णयमा पुगेपछि आजबाट पालदेखि इजलासमा सुरु गरिएको श्रेस्तेदार खड्गराज अधिकारीले जानकारी दिनुभयो ।

पालबाटै आज तीनवटा मुद्दाको बहस पैरवी भएपछि अदालतको भवनको अवस्था बुझ्न प्रधानन्यायाधीश रामकुमारप्रसाद साहको नेतृत्वमा वरिष्ठ न्यायाधीश कल्याण श्रेष्ठ, सर्वोच्च अदालतका न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठ, रजिस्टार श्रीकान्त पौडेलसहितको टोलीले अदालत भवनको अनुगमन गरेको छ ।

टोलीले जिल्ला अदालतको क्षति पुगेको संरचना, चर्किएको भागको अवलोकन एवम् अनुगमन गरेपछि पालबाट इजलास सञ्चालन नगर्न निर्देशन दिएको छ ।

प्रधानन्यायाधीश साहले अदालत भवन अहिले नै आत्तिहाल्ने अवस्थामा नपुगेको निष्कर्ष निकाल्दै पालबाट इजलास बन्द गरेर भवनभित्रकै साविकको इजालासमा बसेर उच्च सर्तकताका साथ काम गर्न निर्देशन दिनुभएको छ ।

अदालतमा चारवटा पहेंलो स्टिकर टासिएको छ भने जमिन भासिएको छ ।

प्रतिक्रिया