भूकम्पपीडित जनतालाई बाघको त्रास

इनेप्लिज २०७२ जेठ २ गते १०:५३ मा प्रकाशित

89491_imagesजीतपुरफेदी (काठमाडौँ), २ जेठ । काठमाडौँ उपत्यकाको तारकेश्वर नगरपालिका–८ जीतपुरफेदीका बासिन्दालाई भूकम्पसँगै बाघले तर्साउने गरेको छ ।

वैशाख १२ गतेको विनाशकारी भूकम्पको पीडा सर्वसाधारणमा एकातिर छँदैछ त्यससँगै बाघले रातमा सुतेको ठाउँ वरपर आएर तर्साउने गरेको स्थानीय रामशरण गजुरेल बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “भूकम्पले सम्पूर्ण घरगोठ लग्यो बारीमा पाल टाँगेर बसेका छौँ, त्यहाँ पनि शिवपुरी राष्ट्रिय निकुञ्ज र नागार्जुन जङ्गलबाट बाघ आएर त्रास देखाउने गरेको छ ।”

यस्तै तारकेश्वर नगरपालिका–६ का ८० वर्षीय वृद्ध होमनाथ अर्यालको पीडा पनि उस्तै छ । उहाँको भूकम्पले घरगोठ लगेपछि गोठमा बाँधेको पाँचवटा बाख्रा, दुईवटा लैनो गाई र दुई बाच्छाबाच्छीको बिचल्ली भएको छ ।

सम्पत्तिको नाममा भएको घर भत्केको र हातमुख जोर्न पालिएका पशु चौपायाको समेत असुरक्षित असुरक्षित भएकामा उहाँ चिन्तित हुनुहुन्छ । रातमा आएको बाघले खाइदिने हो कि भन्ने चिन्ताले रातभर जाग्राम बसेको बताउनुहुन्छ ।

यस्तै सोही ठाउँकै ८२ वर्षीया उमापति अर्यालको व्यथा पनि उस्तै छ । उहाँले पालेका दुईवटा लैना गाईको बिजोग भएपछि आफूलाई बास बस्न दिएको पाल गाईलाई ओढाएर आफू अर्कोको छाप्रोमा बस्दै आएको बताउनुहुन्छ ।

दमको व्यथा भएका अर्यालले भूकम्पपीडित बूढापाकाका लागि राज्यले कम्बल र कपडा दिन लागेको छ भन्ने खबर के साँचो हो भन्दै राहत दिन गएका टोलीसँग प्रश्न गर्नुभयो ।

यस्तो गाउँलेको पीडामा मलम लगाउन सो क्षेत्रका भूकम्प प्रभावित जनतालाई ब्रह्मकुमारी राजयोग केन्द्रले राहत वितरण गरेको थियो । केन्द्रको सक्रियतामा आज काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिकाका ८ र ९ वडाका भूकम्प प्रभावित जनतालाई त्रिपाल, कम्बल, बिस्कुटलगायतका सामग्री वितरण गरेको हो ।

प्रजापिता ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय, ग्लोबल अस्पताल र मेडिकल विगं माउण्ट आबु भारतको सक्रियतामा सङ्कलन गरिएको कम्बल, खाद्यान्न र त्रिपाल ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको पहलमा वितरण गरिएको केन्द्रका उपाध्यक्ष ब्रह्मकुमार रामसिंह ऐरले बताउनुभयो ।

हालसम्म राजयोग केन्द्रले काठमाडौँको साँखु, जीतपुरफेदी, धादिङको जीवनपुर, सिन्धुपाल्चोकको नवलपुर, बराम्ची, पदमवास र स्थानीय सेवा केन्द्रको सहयोगमा दोलखा र रामेछापमा चार हजार कम्बल, दुई हजार त्रिपाल, १० टन खाद्यान्न वितरण गरिएको केन्द्रका ब्रह्मकुमार हरि शर्मा पौडेलले जानकारी दिनुभयो ।

मानव सेवा नै ठूलो धर्म भएको भन्दै ब्रह्मकुमारी राजयोग केन्द्रले देशको विपत्तिमा अझै सहयोग गर्न तयार रहेको पौडेलले बताउनुभयो ।

तारकेश्वर नगरपालिकामा भूकम्पले १० जनाको मृत्यु भएको थियो भने दुई दर्जनभन्दा बढी मानिस घाइते भएका थिए ।

प्रतिक्रिया