सदस्यता वितरण अवैध भएको भन्दै उजुरी

इनेप्लिज २०७२ जेठ २ गते ३:२६ मा प्रकाशित

धनगढी, २ जेठ । अवैधरुपमा गैर व्यापारीलाई सदस्यता वितरण गरिएको भन्दै असन्तुष्ट व्यापारीहरूले कैलाली उद्योग वाणिज्य सङ्घ कार्य समितिविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।

यही जेठ २१ गते हुने सङ्घको साधारणसभामा जिल्ला कार्य समिति चयन गर्न निर्वाचन हुन लागेको परिप्रेक्ष्यमा सङ्घको वर्तमान कार्य समितिले चुनावी परिणाम आफ्नो पक्षमा पार्न गैर व्यापारीलाई सदस्यता दिएको भन्दै व्यापारीको समूहले सदस्यता खारेजीको मागसहित शुक्रबार जिल्ला प्रशासनमा उजुरी दिएको व्यापारी वासुदेव भट्टले बताउनुभयो ।

उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय कैलालीले उद्योग वाणिज्य सङ्घलाई सङ्घ संस्था दर्ता ऐनअनुसार काम भए÷नभएको बारे शुक्रबार नै पत्र काटेको छ ।

कैलाली उद्योग वाणिज्य सङ्घमा झन्डै आठ हजार सदस्य रहेका छन् ।

साधारणसभाद्वारा कार्यसमितिका पदाधिकारी चयन गरिने भएपछि निर्वाचन अघि सङ्घको नयाँ सदस्यता जथाभावीरुपमा वितरण गर्ने प्रवृत्ति बढ्दै जाँदा वास्तविक व्यापारी नेतृत्वमा आउन नसकिरहेको गुनासो व्यापारीहरूको छ ।

प्रतिक्रिया