उपत्यका भित्रिने सर्वसाधारणमा भूकम्पको त्रास कायमै

इनेप्लिज २०७२ जेठ २ गते ३:२३ मा प्रकाशित

77c99477afc6d112218738cc39b38411काठमाडौँ, २ जेठ । भूकम्प गएपछि राजधानी उपत्यकाबाट बाहिरिएका सर्वसाधारणमा त्रास कायमै भएका कारण अझै फर्किन सकेका छैनन् ।

वैशाख १२ गते र त्यसपछि पटक पटक गएको भूकम्पको त्रासले राजधानी बाहिरिएका करिब आठ लाखभन्दा बढी सर्वसाधारण अझै फर्किन सकेका छैनन् ।

भूकम्प गएपछि वैशाख १२ देखि ३१ गतेसम्म एक लाख ३४ हजार २१७ सवारी साधनबाट १४ लाख ४८ हजार ७१८ सर्वसाधारण राजधानीबाट बाहिरिए थिए ।

सोही अवधिमा एक लाख १० हजार १८० सवारी साधनबाट छ लाख ५० हजार ७१२ यात्रु मात्र भित्रिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरिक्षक पोषराज पोखरेलले राससलाई जानकारी दिनुभयो ।

भूकम्प गएको सुरुको अवधिमा राजधानी बाहिरिने क्रम ह्वात्तै बढेपनि जनजीवन सामान्य बन्दै गएपछि उपत्यका भित्रिने सर्वसाधारणको सङ्ख्यामा पनि वृद्धि भएको थियो ।
तर वैशाख २९ पुनः भूकम्पको ठूलो पराकम्पन गएपछि राजधानी भित्रिने सार्वसाधारणमा त्रास कायमै रहेको देखिन्छ । गत २४ घण्टामा उपत्यकामा भित्रिने र बाहिरिने सवारीसाधन तथा यात्रुको अवस्था हेर्दा पनि भित्रिने भन्दा बाहिरिनेको सङ्ख्या बढी देखिन्छ ।

जेठ १ गते बिहान ६ बजेदेखि आज बिहान ६ बजेसम्मको अवधिमा पाँच हजार ९११ सवारीसाधनबाट ३९ हजार ५२६ यात्रु राजधानी भित्रिएका छन् भने सोही अवधिमा पाँच हजार ९०५ सवारी साधनबाट ५३ हजार २२६ यात्रु बाहिरिएको महाशाखाले बताएको छ ।

भूकम्पबाट राजधानीलगायत मध्यमाञ्चलका पहाडी जिल्ला बढी प्रभावित भएकाले राजधानी बस्ने सर्वसाधारण असुरक्षित ठानेर तथा भूकम्पपछि महामारी फैलने हल्लाका कारण एक्कासी बाहिरिए थिए ।

प्रतिक्रिया