ओखलढुङ्गामा ३५ लाखबराबरको चौपाया मरे

इनेप्लिज २०७२ जेठ २ गते १:३३ मा प्रकाशित

nepal-relief-buffa_3282276kविराटनगर, २ जेठ । वैशाख १२ गतेको विनाशकारी भूकम्पमा ओखलढुङ्गामा करिब रु पैत्तीस लाख मूल्य बराबर चौपाया मरेका छन् ।

जिल्लाका ८६ किसान परिवारका ५५ वटा गाईभैंसी, सात वटा बङ्गुर, १९२ कुखुरा र १३३ भेंडाबाख्रासमेत गरी ३८९ पशु र पक्षीको मृत्यु हुँदा रु ३४ लाख ९५ हजार बराबरको क्षति भएको जिल्ला पशुसेवा कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

सोअन्तर्गत क्षेत्र नम्बर–१ को एक नगरपालिका र नौ गाविसका ३० किसान परिवारका १३ गाईभैंसी, ३८ भेंडाबाख्रा मर्दा रु नौ लाख ३५ हजारको क्षति भएको सो कार्यालयका पशु चिकित्सक मोहन गुरुङले जानकारी गराउनुभयो ।

यसका साथै क्षेत्र नं २ को १७ गाविसको ५६ किसान परिवारको ४२ गाईभैंसी, सात बङ्गुर, ९५ वटा भेंडाबाख्रामेतको मृत्यु हुँदा रु २५ लाख ५८ हजार बरावरको क्षति भएको अनुमान गरिएको पशु चिकित्सक रामचन्द्र पुडासैनीले बताउनुभयो ।

मरेका चौपायाहरूलाई पशु प्राविधिक केन्द्रको सक्रियतामा खाल्डो खनेर पुरेकाले वातावरणमा कुनै नकारात्मक असर नपरेको कार्यालय प्रमुख डा अमर राईले बताउनुभयो ।

प्रतिक्रिया