अस्थायी बासको भरपर्दो व्यवस्था गर्नुपर्नेमा जोड

इनेप्लिज २०७२ जेठ १ गते १५:११ मा प्रकाशित

nepal_newssamsadकाठमाडौँ, १ जेठ । संसदीय समितिले भूकम्पपीडितलाई तत्काल अस्थायी बासको व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ ।

व्यवस्थापिका–संसद्अन्तर्गतको राष्ट्रिय विपद् व्यवस्थापन, अनुगमन तथा निर्देशन विशेष समितिले आज प्रधानमन्त्रीलाई भेटेर बासको प्रबन्ध गर्नुपर्नेमा जोड दिएको हो ।

भूकम्पपीडितलाई राहत दिन तथा पुनर्बासको भरपर्दो व्यवस्था गराउने उद्देश्यले गठित सो समितिका अध्यक्ष सुवास नेम्वाङ नेतृत्वको टोलीले प्रधानमन्त्री सुशील कोइरालालाई छ बुँदे ज्ञापन पत्र बुझाउँदै भूकम्पबाट भत्केका घर र बस्न अयोग्य भएका घरपरिवारलाई सबैभन्दा पहिले भरपर्दो अस्थायी बसोबासको व्यवस्था गर्न अनुरोध गरेको छ ।

समितिले सङ्कटग्रस्त र प्रभावित जिल्लामा चिकित्सक, स्वास्थ्यकर्मी र औषधिसहितको टोली परिचालन, गाविस सचिव र अन्य कर्मचारीको व्यवस्था तथा कम्तिमा तीन महिनाका लागि पुग्ने खाद्यान्न भण्डारणको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ ।

त्यस्तै ज्ञापनपत्रमा आश्रय र अभिभावकविहीन बालबालिका, ज्येष्ठ नागरिक र बिरामी भइ अस्पतालमा थलिएकाका लागि सङ्क्रमणकालीन पुनःस्थापना केन्द्र बनाई त्यहाँ राख्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

राहत, उद्धार, पुनःस्थापना र पुनः निर्माणलाई प्रभावकारी बनाउन तथा मन्त्रीहरूलाई सङ्कटग्रस्त जिल्लामा खटाउन समितिले प्रधानमन्त्रीलाई सुझाव दिएको छ ।

समितिका सुझावलाई प्रधानमन्त्री सुशील कोइरालाले सकारात्मकरुपमा ग्रहण गर्नुभएको र तिनलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको अध्यक्ष नेम्वाङले बताउनुभयो ।

प्रतिक्रिया