प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करोडौँ सहयोग

इनेप्लिज २०७२ जेठ १ गते १४:११ मा प्रकाशित

relief fundकाठमाडौँ, १ जेठ । भूकम्प प्रभावितलाई सहयोग हुने गरी आज विभिन्न संस्था र व्यक्तिले प्रधानमन्त्री सुशील कोइरालामार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करोडौँ सहयोग गरेका छन् ।

राष्ट्रिय वाणिज्य बैंकले कोषमा रु एक करोड प्रदान गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष डा रेवतबहादुर कार्कीले सो रकम बराबरको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो ।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले भूकम्पपीडितलाई दिइने राहतमा हिनामिना भएको सूचना पाएमा आफूलाई खबर गर्न आग्रह गर्दै हिनामिना गर्नेलाई कडाकारबाही गरिने बताउनुभयो ।

बैंकका अध्यक्ष डा कार्कीले चेकबाहेक बैकले रु ३० लाखबराबरको चामल नुवाकोट र सिन्धुपाल्चोकका भूकम्पपीडितलाई वितरण गरिसकेको र बैंकका कर्मचारीका तर्फबाट रु एक करोड २२ लाखबराबरको सहयोग जुटाइएको बताउनुभएको थियो ।

बीमा समिति र बीमा कम्पनीबाट तीन करोड अठासी लाख सहयोग
आजै बीमा समिति र विभिन्न बीमा कम्पनीले कोषमा रु तीन करोड ८८ लाख ६० हजार ७१८ रुपैयाँ ६७ पैसा सहयोग गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान आयोजित कार्यक्रममा बीमा समितिका अध्यक्ष प्राडा फत्तबहादुर केसीले सो रकम बराबरको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभयो ।

सो रकम बीमा समिति, बीमा समिति कर्मचारी परिवार, राष्ट्रिय बीमा संस्थान, नेसनल लाइफ इन्सुरेन्स, लाइफ इन्सुरेन्स कर्पोरेसन, नेपाल लाइफ इन्सुरेन्स, मेट लाइफ इन्सुरेन्स, एसियन लाइफ इन्सुरेन्स, एसियन लाइफ इन्सुरेन्स कर्मचारी परिवार, सूर्य लाइफ इन्सुरेन्स, प्राइम लाइफ इन्सुरेन्स, नेपाल इन्सुरेन्स कम्पनी लिमिटेड, हिमालयन जनरल इन्सुरेन्स कम्पनी लिमिटेड, युनाइटेड इन्सुरेन्स कम्पनी लिमिटेड, प्रिमियर इन्सुरेन्स कम्पनी नेपाल लिमिटेड, नेको इन्सुरेन्स लिमिटेड, सगरमाथा इन्सुरेन्स, प्रभु इन्सुरेन्स कम्पनी लिमिटेड, एनबी इन्सुरेन्स कम्पनी लिमिटेड, प्रुडेन्सियल इन्सुरेन्स कम्पनी लिमिटेड, शिखर इन्सुरेन्स कम्पनी लिमिटेड, लुम्बिनी जनरल इन्सुरेन्स कम्पनी लिमिटेड, एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेड र सिद्धार्र्थ इन्सुरेन्स कम्पनी लिमिटेडको योगदानबाट सङ्कलन गरिएको थियो ।

प्रधानमन्त्री कोइरालाले मुलुकमा विपत्ति आइपर्दा सबै एकजुट भई त्यसको सामना गर्नुपर्ने यथार्थलाई आत्मसात् गरी पीडितलाई राहत प्रदान गर्न उदार हृदयले सहयोग गरेकामा बीमा समिति र बीमा कम्पनीका साथै कार्यरत कर्मचारीलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

उद्यमी सुमार्गीद्वारा एक करोड सहयोग
आजै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उद्यमी अजय सुमार्गीले रु एक करोडको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको छ ।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले देशमा आइपरेको प्राकृतिक विपत्तिलाई सबै नेपालीले मिलेर सामना गर्नुपर्ने उल्लेख गर्दै यसका लागि आफू राष्ट्रिय सरकार बनाउनसमेत तयार रहेको बताउनुभएको थियो ।

उद्यमी सुमार्गीले आफूले प्राकृतिक विपक्तिको समयमा पीडितलाई आश्रय लिन सजिलो होस् भनेर पाँच क्षेत्रमा एक–एकवटा सामुदायिक भवन बनाउन लागेको जानकारी गराउनुभएको थियो ।

शाक्य बौद्ध रिन्पोछेद्वारा पच्चीस लाख सहयोग
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज शाक्य बौद्ध धर्मावलम्बीका तर्फबाट रु २५ लाख प्रदान गरिएको छ । बौद्धधर्मअन्तर्गत शाक्य परम्पराका प्रमुख गद्दीधारी गुरु शाक्य ट्रिन्जिन रिन्पोछेबाट प्राप्त रकम गुरु ज्ञानबज्र रिन्पोछेले प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो ।

सुविसुद्वारा बीस लाख सहयोग
केबल टीभी नेटवर्क सुबिसु केबलले कोषमा रु २० लाख सहयोग गरेको छ । कम्पनीका सञ्चालक विजय श्रेष्ठले सो रकमको चेक प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो ।

सभासद् पवन शारदाद्वारा तलब सुविधा सहयोग
मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका तर्फबाट सभासद् बन्नुभएका पवन शारदाले मनोनित भएको दिनदेखि हालसम्म सभासद्को रुपमा प्राप्त तलब भत्तासहितका सुविधावापत प्राप्त हुने सबै रकम भूकम्प पीडितको सहयोगका लागि कोषमा दिने घोषणा गर्नुभएको छ ।

सोबापत हुने रकम उहाँले रु ११ लाख ३८ हजार ६७१ को चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभयो ।

मुस्लिम समाजबाट पाँच लाख
आजै अहमदिया मुस्लिम समाजले भूकम्पपीडितको सहयोगका लागि कोषमा रु पाँच लाख प्रदान गरेको छ । समाजले गोरखाका भूकम्पपीडितलाई खाद्यान्नसमेत आपूर्ति गरेको पनि बताएको छ ।

प्रतिक्रिया