बुटवल, १ जेठ । जग्गाको कारोवार गर्नेहरुले सिँचाइको लागि वर्षौदेखि प्रयोग हुँदै आएको कुलो र नहर अतिक्रमण गरी सडक बनाइदिएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिका–२०, पत्थरडाँडामा सिँचाइ सेवा प्रभावित भएको छ ।
कुलो र नहर अतिक्रमण भएपछि त्यहाँ रहेको दुई सय बिगाहा खेतमा सिँचाइ प्रभावित भएको हो ।
स्थानीय कृषकले सिँचाइ बन्द भएपछि खेत बाँझै रहने भन्दै अतिक्रमण गरिएको कुलो र नहरलाई पहिलेकै अवस्थामा फर्काउन पहल थालेका छन् । तर आफूहरुको पहललाई नगरपालिकाले समेत ध्यान नदिएको उनीहरुको गुनासो छ ।
यस क्षेत्रमा जग्गा प्लटिङ गरेका समूहले आफ्नो व्यावसायिक स्वार्थ पूरा गर्ने उद्देश्यले सार्वजनिक कुलो अतिक्रमण गरी सडक निर्माण गरेको स्थानीयको गुनासो छ ।
सयौँ वर्ष पुरानो सार्वजनिक कुलोमा सडक बनाएर किसानलाई सिँचाइबाट बञ्चित गरिएको स्थानीय कृषक नरबहादुर कोइरालाले गुनासो गर्नुभयो । विसं २०२८ देखि बबनी, कोटिहवा र मधौलिया गरी तीन मौजाले सिँचाइ गर्दै आएको कुलोबाट मधौलिया क्षेत्रको करिब दुई सय बिगाहा क्षेत्रफलमा सिँचाइ हुँदै आएको छ ।
सार्वजनिक कुलो र ३० फिट गहिरो नहर रहेको सो क्षेत्रमा केही वर्षअघि भैलुभुजा सिँचाइ प्रणालीले बोरिङ गाडेपछि नहर बन्द भएको थियो । नहरमा पानी आउन बन्द भएपछि किसानले सार्वजनिक कुलोमार्फत खेतमा सिँचाइ गर्दै आएका थिए ।
कुलोनै मेटाएर सडक बनाइएपछि मधौलिया डुबानमा पर्ने र खेती गरेर जीविका चलाउँदै आएका किसान विस्थापित हुने अवस्था आएको किसानहरुको भनाइ छ ।
प्रतिक्रिया