महोत्तरीमा तीनको मृत्यु

इनेप्लिज २०७२ वैशाख ३१ गते ८:३१ मा प्रकाशित

Mahottari_district_locationगौशाला, ३१ वैशाख । मङ्गलबार आएको भूकम्पमा परी महोत्तरीमा एक बालिकासहित तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको बनौटा गाविस–५ बस्ने ३० वर्षीय युवक मिश्री महतो र दिनेश दासकी छोरी राधिका तथा भटौलिया गाविस–८ बस्ने ६० वर्षीय सुरज मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । भूकम्पका बेला घरबाट बाहिर भाग्ने क्रममा लडेर युवक महतो बेहोस भएकामा राति बेहोसावस्थामै मृत्यु भएको थियो ।

त्यस्तै पाँचमहिने शिशुलाई पनि बुबा दिनेशले काखमा च्यापेर बाहिर दगुर्दै भागेपछि उनको पनि निस्सासिएर मृत्यु भएको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो । भटौलिया ८ अजमरपट्टीका मण्डलको भने काठको दुईतल्ले घरबाट भाग्ने क्रममा भ¥याङमा ठोक्किएर मृ्त्यु भएको बताइएको छ ।

त्यसैगरी भरतपुर ८ बस्ने ३५ वर्षीय दिनेश महतो, खैरबन्नी ९ बस्ने चन्देश्वर यादव र जलेश्वर नगरपालिका ४ बस्ने ११ वर्षीया जनकदुलारी पासवान भूकम्प आएको बेला भागदौडमा परेर घाइते भएका छन् । घाइते सबैको उपचार स्थानीयस्तरमा गरिएको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
कारागारका २५ कैदीबन्दी घाइते

जलेश्वरस्थित कारागारमा २५ कैदीबन्दी घाइते भएका छन् । भूकम्प गएका बेला जलेश्वर कारागारभित्र रहेका कैदीबन्दीमा भागदौड मच्चिँदा तिनीहरुको घाइते भएको कारागार प्रमुख शोभेन्द्र ठाकुरले बताउनुभयो ।

एक सय ३५ कैदीबन्दी राख्ने मात्र क्षमता भएको जलेश्वर कारागारमा सो दिन ३८७ थिए । अधिकांश कैदीबन्दी एकापसमा ठोक्किएर र केही कारागारका पर्खाल, कोठा र झ्यालढोकामा ठोक्किएर घाइते भएको बताइएको छ ।

प्रतिक्रिया