एपिएफ टोलीद्वारा दोलखामा छ जनाको जीवितै उद्धार

इनेप्लिज २०७२ वैशाख ३१ गते ३:५३ मा प्रकाशित

images-31काठमाडौँ, ३१ वैशाख । दोलखामा सशस्त्र प्रहरीको टोलीले भत्किएको संरचनाबाट छ जनाको जीवितै उद्धार गरेको छ ।

यही वैशाख २९ गते दोलखामा गएको ६.८ रिक्टर स्केलको पराकम्पनमा दोलखाको सिङ्गटी बजारमा रहेको पाँचतले घर भत्किएर पुरिएका १६ वर्षीया सविता गुरुङ, दुई किशोरी र तीन किशोरलाई जीवितै उद्धार गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक अजय छतकुलीद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

भत्किएको सो घरमा मासु पसल, किराना पसल, चिया पसल, टिभी पसल, मोबाइल पसललगायतका पसल रहेका थिए । भूकम्पबाट उक्त घर भत्किएर पूर्णरुपमा क्षति हुँदा पुरिएका सबै छ जनालाई नै सशस्त्र प्रहरी बलको टोलीले जीवितै उद्धार गरेको हो ।

जीवित उद्धार गरिएकी सविता गुरुङ पूरै च्यापिएको अवस्थामा रहेकी थिइन् । उनको गोडा पूरै च्यापिएको थियो । उनको उद्धार गर्दा कपालसमेत काट्नुपरेको थियो । उनलाई सशस्त्र प्रहरी नायब निरीक्षक विष्णु दराईंको नेतृत्वमा खटिएको टोलीले उद्धार गरेको हो । छ जनालाई नै हेलिकप्टरबाट उपचारका लागि काठमाडौँ ल्याइएको छ । त्यसैगरी सशस्त्र प्रहरी बलको टोलीले हिजै दोलखा जिल्लाको सिङ्गटी बजारबाट अन्य पाँच जनालाई जीवितै उद्धार गरेको थियो ।

सोही बजारबाटै अन्य २८ जनालाई संयुक्त रुपमा मङ्गलबार बेलुका नै जीवितै उद्धार गरेको थियो ।

टोलीले दोलखाको सिङ्गटी आसपास इलाकाहरु चिल्खा, लामीडाँडा, लादुक, सुनखानी, सुरी गाविसका विभिन्न ठाउँबाट १५ जनाको शवसमेत निकालेको थियो ।

यही वैशाख २९ गते आएको भूकम्पमा परी दोलखामा ६१ जनाको मृत्यु भएकाको सनाखत भइसकेको छ ।

प्रतिक्रिया