इलामबाट एक करोड सात लाख राहत

इनेप्लिज २०७२ वैशाख ३० गते १५:०५ मा प्रकाशित

ilam_nepal_mapइलाम, ३० वैशाख । भूकम्प पीडितका लागि इलामका सरकारी कार्यालयले रु एक करोड सात लाखभन्दा बढी जम्मा गरेका छन् ।

भूकम्प पीडितको सहयोगका लागि यहाँका ४१ सरकारी कार्यालयमध्ये ३० वटा सरकारी कार्यालयले रु एक करोड सात लाख ७३ हजार ७७६ जम्मा गरेका हुन् ।

सशस्त्र, नेपाल प्रहरी र जिल्ला अदालतले ड्राफ्टमार्फत रु ११ लाख ७९ हजार ३७७ र शिक्षा, स्वास्थ्यलगायतका कार्यालयले कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत रु ९५ लाख ९४ हजार ४०३ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको प्रमुख कोष नियन्त्रक भेषप्रसाद भूर्तेलले जानकारी दिनुभयो ।

यसैबीच, जिल्लाका विभिन्न सङ्घसंस्था तथा व्यक्तिले भूकम्पपीडितका लागि रु तीन लाख २० हजार ८८२ सङ्कलन गरी पठाएका छन् ।

जिल्ला प्रशासन कार्यालयका लेखापाल भीष्म दाहालका अनुसार नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखामार्फत रु एक लाख ६२ हजार ५८१, निर्माण व्यवसायी सङ्घ रु ५० हजार १०५, नारी विकास क्षेत्रीय कार्यालय इलामले रु ३० हजार रकम पठाएका हुन् ।

यसैगरी, शताब्दी बचत तथा ऋण सहकारी संस्थाले रु २५ हजार ५५५, कारागारका कैदीबन्दीले रु १५ हजार ९६५, बरबोटे निवासी समाजसेवी गोविन्द पौडेलले रु १५ हजार, महिला जागरण सङ्घले रु ११ हजार १११ र लेखापढी व्यवसायी एशोसिएसनले रु १० हजार ५५५ पठाएका छन् ।

त्यस्तै जिल्लास्थित राष्ट्रिय वन पैदावर व्यवसायी सङ्घले रु तीन लाख ५१ हजार बराबरको राहत सामग्री खरिद गरी सिन्धुपाल्चोकका भूकम्पपीडितलाई वितरण गरेको छ ।

प्रतिक्रिया