पराकम्पनका कारण राहत सामग्री पुर्‍याउन कठिनाइ

इनेप्लिज २०७२ वैशाख ३० गते ४:५५ मा प्रकाशित

indexबनेपा, ३० वैशाख । पछिल्लो पटक गएको पराकम्पनका कारण काभ्रेपलाञ्चोकको दुर्गम क्षेत्रका गाविसमा राहत सामग्री पुर्‍याउन कठिनाइ भएको छ ।

जिल्लाको दुर्गम क्षेत्रका विभिन्न गाविसमा पराकम्पनका कारण त्रासले गाँउगाँउ जानसमेत समस्या भएको उल्लेख गर्दै काभ्रेपलाञ्चोकका स्थानीय विकास अधिकारी चिरञ्जीवी तिम्सिनाले राहत सामग्री पुर्‍याउन कठिनाइमाथि कठिनाइ भएको छ भन्नुभयो ।

उहाँले त्रिपालको माग बढेको र आफूहरुसँग नभएको उल्लेख गर्दै केही खाद्यान्न होला तर पर्याप्त छैन भन्नुभयो । स्थानीय विकास अधिकारी तिम्सिनाले जिल्लामा आंशिकरुपमा क्षति भएको करिब २३ हजार घरमध्ये अधिकांश घरमा क्षति भएको अनुमान गर्दै क्षतिको विवरण ल्याउन ४१ गाविसमा इन्जिनियरसहितको टोली परिचालन भएको र आज पनि झन्डै २० गाविसमा टोली परिचालन गर्ने तयारी भएको बताउनुभयो ।

उहाँले भूकम्पबाट पीडितले वर्षाको समय भएकाले जस्ताको माग गरेको र जिल्लामा ६५ हजार घरधुरीलाई रु ९१ करोड लागतको जस्ता लाग्ने बताउनुभयो । जिल्लामा हिजो पराकम्पनका कारण १०५ जनाभन्दा बढी घाइते भएका थिए ।

प्रतिक्रिया