न्युयोर्कको फुटबल क्लबले पुर्‍यायो विकट गाउँमा राहत

इनेप्लिज २०७२ वैशाख २९ गते ३:४० मा प्रकाशित

rahat4काठमाडौं, २९ वैशाख । राहत वितरण उपत्यका आसपासमै केन्द्रित भइरहेको बेला न्युयोर्कस्थित एक नेपाली फुटबल क्लबले भने सिन्धुपाल्चोकको विकट गाउँमा पुगेरै राहत वितरण गरेको छ ।

न्युयोर्क नेप्लिज फुटबल क्लबले शनिवार सिन्धुपालचोकको बतासे गाविसस्थित पुर्ण रूपमा क्षतिग्रस्त बनेको खाले गाँउका २५० परिवारलाई ३० लाख रूपैयाँ बराबरको राहत सामाग्री वितरण गरेको हो ।

क्लबका अध्यक्ष याङ्ला लामाको नेतृत्वमा गएको टोलीले पाल, कम्मल, मेट्रेस र खाध्य सामाग्री वितरण गरेको हो । टोलीमा हाँस्य कलाकार मनोज गजुरेल पनि सहभागी थिए ।

राहत टोलीहरू काठमाडौं आसपासमै केन्द्रित भएको र सरकारको समेत उपस्थिति पुग्न नसकेको सूचनाका आधारमा विकट गाँउ छनौट गरिएको क्लबका अध्यक्ष लामाले बताए ।

न्युयोर्कमा ५ वर्ष अगाडि स्थापना भएको यो क्लबले नेपालमा भूकम्प गए लगत्तै घरदैलोमा पुगेर सहयोग संकलन गरेका  थियो । क्लबले एकै दिनमा करिब २३ लाख रूपैयाँ संकलन गरेको न्युयोर्क टाइम्सले समेत समाचार प्रकाशित गरेको थियो ।

प्रतिक्रिया