आफू दुःखमा हुँदाहुँदै भूकम्पपीडितलाई सहयोग

इनेप्लिज २०७२ वैशाख २९ गते १:४८ मा प्रकाशित

indexकाठमाडौँ, २९ वैशाख । विनाशकारी भूकम्पबाट धादिङ–८ वेनिघाटका दिनेश कँडेलको घर बस्न नमिल्ने गरी चर्किएको छ । उहाँको परिवार अहिले पनि त्रिपालमुनि बस्दै आएको छ । तर कँडेल भने आफूलाई भूकम्पको पीडा हुँदाहुँदै आफूभन्दा पीडितको घाउमा मलहम लगाउन सहयोगमा जुट्नुभएको छ ।

कँडेलले विभिन्न सङ्घसस्था र आफ्नोतर्फबाट समेत रु १४ लाखबराबरको राहत साम्रगी सहयोग गर्नुभएको छ । इटलीमा रहेको हनुमुन अन्लुस नामक संस्था र कोअपे्रटिभ युथ अर्गनाइजेसन नेपालको संयुक्त सहयोगमा गोरखाका नाम्जुङ, हङ्सपुर गाविस र धादिङको बेनिघाट गाविसमा चामल, चिउरा, चाउचाउ, नुन, तेल, बिस्कुट, त्रिपाल, कम्बललगायतका सामग्री वितरण गरिएको छ ।

“अहिले सबैलाई पीडा परेको छ यस्तो समयमा कम पीडा परेको व्यक्तिले धेरै पीडा परेको व्यक्तिलाई सहयोग गर्नु आवश्यक छ सबैले आ–आफ्नो स्थानबाट सकेको सहयोग गरौँ यो नै सबैभन्दा ठूलो मानवीय धर्म हो”–कँडेलले भन्नुभयो ।

गोरखा नाम्जुङ–३ का भूकम्पपीडित चेतनारायण सुवेदीले अहिलेसम्म सरकारका तर्फबाट राहतको महसुस गर्न नपाए पनि विभिन्न सङ्घसंस्था र व्यक्तिले सहयोग गर्दै आएको बताउनुभयो । “भूकम्पले घर सबै क्षतिग्रस्त भएको छ, एउटा त्रिपालसमेत नपाएर खुला आकाशमा बस्दै आएका छौँ, राहत त विभिन्न सङ्घसंस्था दिएका छन्, सरकारले कम्तीमा एउटा बस्ने बासको व्यवस्था मिलाइदिए हुन्थ्यो”–उहाँले गुनासो गर्नुभयो ।

गोरखा सिम्जुङ गाविसका जितबहादुर गुरुङको भूकम्पका कारण दुईवटा घर ध्वस्त भएको छ । परिवार अझै पनि पालमुनि बस्दै आएको छ । तर जितबहादुर गोरखाका अन्य गाविसका भूकम्पपीडितका लागि राहत सङ्कलन गर्न लागिपर्नुभएको छ । रु तीन लाखबराबरको राहत सङ्कलन गरी गोरखाका भूकम्पपीडितलाई वितरण गरिसक्नुभएको छ ।

त्यसैगरी ठमेलमा रहेको एक्रस हिमालय टुर्स एन्ड ट्रेक र यात्रा वल्ड नेपाल नामक संस्थाले संयुक्त रूपमा भूकम्पबाट क्षति भएको धादिङ दार्खा गाविसमा रु दुई लाख ४० हजारबराबरको चाउचाउ, चिउरा, बिस्कुट, नुन, तेललगायतको सामान वितरण गरेको छ ।

भूकम्पपीडित भएको स्थानमा गएर उनीहरूको अवस्था हेरीकन राहत वितरण गरिएको एक्रस हिमालय टुर्स एन्ड ट्रेकका प्रमुख शिव सिल्वालले जानकारी दिनुभयो ।

यसरी विभिन्न गैरसहकारी सङ्घसंस्थाले राहतका लागि सहयोगी हातहरू अघि बढाइरहँदा भूकम्पका कारण पीडा पु¥याएको धेरै स्थानमा सरकारी तवरबाट अझैसम्म पनि राहत सामग्री वितरण हुन नसकेको दार्खाका भूकम्पपीडितले गुनासो गरेका छन् । धादिङ दार्खाका भूकम्पपीडित सुदीप अधिकारीले राहतको नाममा चाउचाउ र चिउरा मात्रै भन्दा पनि दाल र चामल पनि वितरण गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया