चितवनमा मात्रै तीन करोडभन्दा बढी राहत सङ्कलन

इनेप्लिज २०७२ वैशाख २९ गते १:१९ मा प्रकाशित

earthquake-7चितवन, २९ वैशाख । भूकम्पका कारण प्रभावितका लागि चितवनमा मात्रै करिब तीन करोडको राहत रकम र सामग्री सङ्कलन भएको छ । सङ्कलित राहत प्रभावित भएका छिमेकी जिल्ला गोरखा, धादिङ, मकवानपुर, नुवाकोट र नवलपरासीमा पठाएको बताइएको छ ।

सञ्चारमाध्यममा आएका समाचारलाई आधार मान्दा चितवनमा मात्रै रु तीन करोडभन्दा बढीको राहत सङ्कलन र वितरण भएको पाइन्छ । चितवनका पहाडी जिल्ला भूकम्पबाट नराम्रो गरी प्रभावित भएका छन् भने तराई क्षेत्रमा सामान्य मात्रै प्रभाव परेको छ । जसका कारण चितवनवासीले छिमेकी जिल्लालाई सहयोग गर्न उत्साहित ढङ्गले लागेका छन् ।

सर्वदलीय सर्वपक्षीय भूकम्पपीडित राहत समिति चितवन २०७२ ले हालसम्म रु ४४ लाख राहत सङ्कलन गरिसकेको छ । त्यस्तै जिल्ला दैवीप्रकोप उद्धार समन्वय समितिमा रु १५ लाख सङ्कलन भएको छ । सर्वसाधारण जनताले दलीय संयन्त्र र सरकारी कर्मचारीमाथि विश्वास नराख्दा ती संस्थामा भन्दा दसौँ गुणा बढी राहत सोझै वितरण गरेको पाइन्छ । उद्योग वाणिज्य सङ्घ चितवनले रु २५ लाख रुपैयाँभन्दा बढीको राहत रकम र सामग्री सङ्कलन गरी चितवनसहित गोरखा, धादिङ, नुवाकोटमा वितरण गरेको उवासङ्घका अध्यक्ष कल्याण जोशीले बताउनुभयो ।

नेपाल अण्डा उत्पादक सङ्घले करिब रु ११ लाख र रु २२ लाख मूल्यबराबरको अण्डा वितरण गरिसकेको सङ्घका अध्यक्ष शिवराम केसीले बताउनुभयो । यस्तै उद्योग सङ्घ चितवनले करिब रु आठ लाख र पोल्ट्री व्यवसायी मञ्चले करिब रु आठ लाख सङ्कलन गरी विभिन्न निकायमार्फत वितरण गरेको जनाएको छ ।

यस्तै मनकामना दर्शन प्रालिले लक्ष्मणबाबु श्रेष्ठ स्मृति कोषमार्फत अहिलेसम्म रु ६० लाखबराबरको राहत वितरण गरेको जनाएको छ । चितवनको दारेचोक, चण्डिभञ्ज्याङ र गोरखाको बकराङ, मकैसिंग गाविसमा राहत पठाएको केबुलकारका अध्यक्ष राजुबाबु श्रेष्ठले बताउनुभयो । भरतपुर आँखा अस्पतालले रु ६२ लाखबराबरको राहत सामग्री गोरखाका प्रभावित क्षेत्रमा वितरण गरेको छ ।
क्षेत्रीय होटल सङ्घ सौराहाका प्रथम उपाध्यक्ष सुमन घिमिरेका अनुसार सङ्घ, रेस्टुरेन्ट तथा बार एसोसिएसन, लायन्स क्लब, सामुदायिक स्वास्थ्य केन्द्र, बाघमारा मध्यवर्ती सामुदायिक वनलगायतले रु ४० लाखका राहत सामग्री वितरण गरिसकेका छन् ।

होटेल मोनालिसाले स्टुडेन्ट भोलेन्टियर प्लेसपेन्ट इन्टरनेसनल संस्थासँग मिलेर रु २२ लाखबराबरको राहत सामग्री वितरण गरेको छ । सपना भिलेज इम्प्याक्टले प्रभावित जिल्लामा रु १६ लाख २४ हजार मूल्यबराबरको राहत वितरण गरेको छ । चितवनका सञ्चारकर्मीको समूहले फेसबुकमार्फत चलाएको ‘हामीले नगरे कसले गर्ने’ अभियानमार्फत राहत सङ्कलन गरी चितवन, मकवानपुर, गोरखालगायत जिल्लाका प्रभावित क्षेत्रमा करिब रु नौ लाख बराबरको उपभोग्य सामान पु¥याएको जनाएको छ ।

केरा व्यवसायी सङ्घले रु एक लाख सहयोग गरेको छ । चितवनमै हालै गठित चितवन गोरखा समाजले करिब रु पाँच लाख सङ्कलन गरी विभिन्न सङ्घसंस्थासँग सहकार्य गरेर राहत वितरण कार्य थालेको संयोजक पूर्ण दवाडीले बताउनुभयो । त्यसैगरी निजी अस्पताल, शिक्षण संस्था, सञ्चारमाध्यम, गैरसरकारी संस्था, सामाजिक संस्था, टोल विकास संस्था, सामुदायिक वन, बैंक तथ वित्तीय संस्थालगायतले राहत सङ्कलन र वितरण कार्य जारी राखेका छन् ।

प्रतिक्रिया