किसानको पीडा: घर भत्किएर पालको बास, खेतभरि गहुँको रास

इनेप्लिज २०७२ वैशाख २७ गते ९:११ मा प्रकाशित

kanchanpur-gahuभक्तपुर, २७ वैशाख । विनाशकारी भूकम्पले घर भत्काएपछि पालको बास भएका किसानको खेतभरि गहुँको रास भएपछि यतिखेर चिन्तामाथि चिन्ता थपिएको छ ।

भूकम्पले आहत बनाएका उनीहरुलाई खेतमा फलेको आलु र पाकेको गहुँ भित्र्याउने ठाउँसमेत नभएपछि पीडामाथि पीडा थपिएको हो ।

भक्तपुरका किसानले रोपेको आलु खन्न निकै हतारो भइसके पनि राख्ने ठाउँ नहुँदा फलेको आलु खेतमै कुहिन थालेको छ । विगतका वर्षमा आलु खनेर संरक्षण गरिसक्ने भए पनि यस वर्ष खेतमै गएका छैनन् किसान । आलु खनेकाले पनि राख्ने ठाउँ नहुँदा कुहिन थालेको छ ।

भूकम्पपछिको लगातार पानी पर्नाले एकातिर खेतमै आलु कुहिएको छ भने खेतबाटै आलु बिक्री गर्नलाई व्यापारी पनि आएका छैनन् । विगतका वर्षमा भने आलु लिन खेतमै आउने किसान यस वर्ष नआउँदा भएको आलु पनि कुहिन थालेको हो ।

भक्तपुर ताथली–३ सौडोलकी साबित्री बस्नेतले भएको घर भत्किएपछि पाकेको गहुँसमेत भित्र्याउन नपाएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “एकातिर घर भत्किएर पालको बास भएको छ, अर्कोतर्फ खेतभरि गहुँ पाकेर झुलेको छ, काटेको गहुँ पनि घर ल्याउने ठाउँ नभएपछि खेतमै रास लाएर राखिएको छ ।”

भत्किएको घर अगाडि थुपारिएको आलुको रासबाट कुहिएको आलु फाल्दै नगरकोट नगरपालिका–३ ताँथलीकी शारदा गिरीको चिन्ता पनि उस्तै छ । गिरीले भन्नुभयो, “खेतमा आलु कुहिन थालेपछि खनेर घरमा ल्याइयो, भत्किएको घरमा राख्ने ठाउँ नभएर बाहिरै राखिएको छ, तर घरमा पनि कुहिन थालेपछि ज्याला पनि नउठ्ने भो, एकै पटक विपत्ति आयो हामीलाई ।”

सौडोलकी कोपिला खड्काको चिन्ता पनि उस्तै छ । खेतमा गुहँ काट्दै गरेकी उहाँ भन्नुहुन्छ– गहुँ काट्न थालियो, नकाटौँ असिनाले झार्ला भन्ने डर, काटाँै राख्ने घर छैन, यही खेतमा गहुँको रास लाएर राख्नुको विकल्प छैन ।”

भक्तपुर नगरपालिका सूर्यमढीकी कान्छीमाया कोजूले आँखाभरि आँसु पार्दै खेतमा गहुँ पाके पनि त्यसको वास्तै नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “भूकम्पले घर लग्यो, गहुँ भित्र्याउने परिवार लग्यो, यो चिन्तामा गहुँ भित्र्याउन याद पनि छैन, टाउको लुकाउने ओतको ठेगान छैन, गहुँ कहाँ राख्नु ?”

प्रतिक्रिया