काभ्रेपलाञ्चोकमा राहत सामग्री वितरणमा दोहोरोपन

इनेप्लिज २०७२ वैशाख २७ गते ९:०५ मा प्रकाशित

rahatबनेपा, २७ वैशाख । काभ्रेपलाञ्चोक जिल्लामा भूकम्पपीडितलाई वितरण हुने त्रिपालको अभाव भइरहेका बेला राहत सामग्री वितरणमा दोहोरोपना देखिएको छ ।

केही सङ्घसंस्थाले जिल्लामा समन्वय नगरी राहत सामग्री वितरण गरेकाले दोहोरोपना देखिएको काभ्रेपलाञ्चोकका स्थानीय विकास अधिकारी चिरञ्जीवी तिम्सिनाले बताउनुभयो । उहाँले त्यस्ता गाविस निश्चित नभए पनि केही गाविसमा त्यस्तो समस्या आएको र पीडितले सबैभन्दा बढी त्रिपालकै माग गरेकाले मागबमोजिम आपूर्ति हुन नसकेको उल्लेख गर्दै जिल्लाका लागि झन्डै ५० हजार त्रिपाल आवश्यक हुने बताउनुभयो ।

दैवीप्रकोप राहत उद्धार कोषबाट एक हजार त्रिपाल आएको जानकारी दिँदै तिम्सिनाले काभ्रेपलाञ्चोकमा विभिन्न सङ्घसंस्थाबाट प्राप्तसहित अहिलेसम्म १० हजार त्रिपाल वितरण गरिएको बताउनुभयो । “थोरै थोरै पुग्ने गरी सबै गाविसमा पु¥याइसकेका छौँ”–उहाँले भन्नुभयो । जिल्लाको महाभारत शृङ्खलाको डाँडापारिका अधिकांश गाविसमा अहिलेसम्म पनि राहत सामग्री नपुगेकाले हेलिकोप्टरबाट पु¥याउने कार्य जारी रहेको तिम्सिनाले बताउनुभयो ।

जिल्लामा करिब ३० हजार घर पूर्ण रुपमा क्षति भएको र १८ हजार ५०० घर आंशिक रुपमा क्षति भएको प्रारम्भिक अनुमान छ । यहाँ अहिलेसम्म ३१८ को मृत्यु भएको तथा करिब ९०० को हाराहारीमा घाइते भएका छन् ।

यसैबीच काभ्रेपलाञ्चोकमा मृतकका परिवारलाई आर्थिक सहयोगस्वरुप रु एक करोड २२ लाख ८० हजार वितरण भएको छ । जिल्लामा ३०७ परिवारलाई रु ४० हजारका दरले पाँच नगरपालिका र अन्य केही गाविसमा सो रकम वितरण भएको बताइएको छ ।

प्रतिक्रिया