म्याग्दीमा भूकम्पबाट एक हजार ६०८ घरमा क्षति

इनेप्लिज २०७२ वैशाख २६ गते १२:१९ मा प्रकाशित

Bhukampa-kathmandu4म्याग्दी, २६ वैशाख । भूकम्पबाट म्याग्दीमा एक हजार ६०८ घरमा क्षति पुर्‍याएको छ ।

जिल्लामा आजसम्म सङ्कलन भएको तथ्याङ्कअनुसार भूकम्पले ११० घर पूर्णरुपमा क्षति पुगेको छ । त्यस्तै ५८० घरमा आंशिक र ९१८ घरमा सामान्य क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

एक नगरपालिकासहित ३५ गाविस रहेको जिल्लामा नगरपालिकामा मात्रै कुल ५७७ घरमा क्षति पुगेको छ । त्यस्तै ३५ गाविसमा एक हजार ३१ घरमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयका लेखापाल त्रिविक्रम शर्माले जानकारी दिनुभयो । जिल्लामा क्षति हुने घरको तथ्याङ्क सङ्कलन गर्ने काम जारी रहेको छ ।

यसैबीच जिल्लामा भूकम्पपीडितलाई राहत वितरण भइरहेको छ । भूकम्पबाट पूर्णरुपमा घर क्षति भएकालाई १० हजार र आंशिक क्षति हुनका लागि पाँच हजारका दरले राहत हस्तान्तरण भइरहेको छ ।

जिल्लामा पूर्ण र आंशिक रुपमा घर क्षति भएका ६९० जनामध्ये हालसम्म २५६ जनाले राहत पाइसकेका छन् ।

हालसम्म ६३ घरले रु १० हजारका दरले रु छ लाख ३० हजार र १९३ घरले पाँच हजारका दरले रु नौ लाख ६५ हजार गरी कुल रु १५ लाख ९५ हजार राहत वितरण गरिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।

प्रतिक्रिया