बौद्ध धर्मावलम्बीबाट मृतकका नाममा पाठ

इनेप्लिज २०७२ वैशाख २६ गते ८:३२ मा प्रकाशित

काठमाडौँ, २६ वैशाख । यही वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण ज्यान गुमाएकाको सम्झनामा स्थानीय वसन्तपुरमा आज बौद्ध धर्मावलम्बीले पाठ गरेका छन् ।

दुई हजार पाँच सय ५९ औँ बुद्धजयन्ती राष्ट्रिय समारोह समितिले आयोजना गरेको विशेष कार्यक्रममा बौद्ध धर्मका थेरवाद, महायान र वज्रयान सम्प्रदायका बौद्ध गुरुले सम्बन्धित ग्रन्थ वाचन गरेको सो कार्यक्रममा दुर्गति परिशोधन, धारणी पाठ, स्वस्तिवाचनसमेत गरिएको थियो । त्यसैगरी घाइते भएकाको नाममा अपारमिता धारणी पाठ गरी शीघ्र स्वास्थ्यलाभको कामना गरियो ।

मूलुकमा भूकम्पले ठूलो धनजनको क्षति भई राष्ट्र शोकमा परेको बेला मृत्यु भएकाको आत्माको चिरशान्तिको कामना तथा घाइतेको चाँडो स्वास्थ्यलाभ होस् भनी करिब एक घन्टा प्रार्थना गरिएको  थियो ।

समितिका अध्यक्ष डा नरेशमान वज्राचार्य, आनन्दकुटी विहारका प्रमुख भिक्षु धम्ममूर्ति, धर्मोदय सभाका सचिव सागरमान वज्राचार्य र परम्परागत बौद्ध सङ्घका अध्यक्ष ज्ञानबहादुर शाक्यले सो घटनामा परी मृत्यु भएकाप्रति समवेदना व्यक्त गर्दै आगामी दिनमा ललितपुर र भक्तपुरमा समेत यस किसिमको कार्यक्रम गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया