भारतका १४ हेलिकप्टरले भन्दा नेपालका १२ हेलिकप्टरले दश गुणा बढी काम गरेका छन ।

इनेप्लिज २०७२ वैशाख २४ गते १२:०५ मा प्रकाशित

sanjuphoto-688x800बैशाख १२ गते गएको विनासकारी महाभुकम्पपछि सरकारले गरिरहेको राहत वितरण, उद्दार लगायतका कामका विषयमा नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री बामदेब गौतमसँग पत्रकार ऋषि धमलाले गरेको कुराकानी
जनताले राहत पाउन सकेनन नि ?
जनताले राहत पाईरहेका छन । अहिलेसम्म एक लाख पाल बाडिसकिएको छ । दुई हजार क्विन्टल खाद्य सामग्री बाडिएको छ । तर जस्तो किसिमको भुकम्प गयो, जति धेरै क्षति हामीले बेहोर्नु पर्यो, जति धेरै जनतालाई असर गरेको छ सबै ठाँउमा राहत पुर्याउन सक्ने क्षमता नेपाल सरकार सँग भएन । त्यस्तो अवस्थामा अन्तर्राष्ट्रिय आब्हान गरिएको छ । त्यो हामीले अहिलेसम्म प्राप्त गरिसकेका छैनौ ।
विदेशीहरुले त हामी जे सहयोग गर्न पनि तयार छौ भनेर भनिरहेका छन ?
केही पनि गरेका छैनन । आजसम्म ७ सय १० वटा पालमात्र विदेशीहरुले दिएका छन । त्यो भन्दा बढी कसैले दिएका छैनन ।
भारतले त धेरै त्रिपाल र खाद्यान्न दिन्छु भनेको छ नि ?
अहिले दिएको छैन, दिदै होला ।
भुकम्प पीडितले ओत लाग्न त्रिपाल नपाउनुको कारण ?
सरकारसँग भएको, विभिन्न सस्थासँग भएको, स्थानीय निकायसँग भएको र ब्यक्तिगत रुपमा जम्मा गरिएको करिब एक लाख पाल वितरण भईसकेको छ । त्यो ज्यादै थोरै पीडितहरुमा मात्र पुग्न सकेको छ । यस पटकको महाभुकम्पले ठूलो संख्यामा क्षति पुर्याएको छ , घरवार विहिन बनाएको छ । त्यसमा पनि काठमाडौ उपत्यकामा भुकम्पको बेलामा ४०–५० लाख जनता बाहिर आईसकेपछि त्यसलाई थाम्न सकिने कुनै स्थिति थिएन ।
राज्यले आफ्नो संयन्त्रलाई परिचालन गर्न नसकेको हो ?
यस्तो महाभुकम्प हुँदा खेरी ६५ लाख जनता बसोबास गर्ने काठमाडौ उपत्यकामा । सबै मानिसहरु घर छाडेर बाहिर आएको बेलामा के दिएर उनीहरुलाई आश्रय दिन सकिन्छ ? एकै चोटी चालिस लाख जनता बाहिर आउँदा कुनै देशसँग उनीहरुलाई आश्रय दिने ब्यवस्था हुँदैन ।
दिर्घकालिन सोच त राज्यले बनाउनु पर्ला नि ?
यस्तो बेलामा अमेरिकाले पनि केही गर्न सक्दैन ।
कहिलेसम्म जनतालाई ओत लाग्न त्रिपाल पुर्याउनु हुन्छ ?
अहिले सबै नेपाली जनतालाई ओत लगाउन दश लाख त्रिपाल चाहिन्छ । दश लाख पाल कुन राष्ट्रले दिन सक्छ तपाई आफै भन्नुस । बैशाख १२ गते नै हामीले चिन र भारतलाई भन्यौ, १३ गते यूएनसहित अरु देशहरुलाई भन्यौ । यति ठूलो महाभुकम्प गएको बेला कुनै पनि देशको सरकारले ब्यवस्थापन गर्न सक्दैन । त्यसको लागि अन्तर्राष्ट्रिय समूदाय आउनु पर्दछ । यो हाम्रो पनि प्रतिबद्धता हो, कुनै अर्को देशमा यस्तो विनास हुँदा हामीले पनि सक्दो सहयोग गर्नु पर्दछ । आईतवार मात्र चिनले आठ हजार पाल ल्यायो । एकलाख त्रिपाल पश्चिम बंगालले दिदैछ ।
अहिलेको सरकारलाई विश्वले समर्थन गरेन भन्न खोज्नु भएको हो ?
बक्तब्यमा समर्थन भएको छ । प्लेनहरु धेरै आएका छन । तर ति सबैमा एउटै चिज आयो उद्दारको निम्ती मिलिट्री टिमहरु आयो । उपचारको निम्ती मेडिकल टिम आयो । औषधी आयो । तर राहतको निमित्त चाहिने पाल र खाद्य सामग्री आएन । सबैभन्दा पहिला ड्राई फुड चाहिन्थ्यो । त्यो आएन र आजसम्म पनि आएको छैन ।
चामल, चिउरा, दाल, आटा सबै आई नै रहेको छ त ?
हामीसँग चामल, चिनी, दाल, नुन तेल आफैसँग छ तीन महिनालाई पुग्ने । तर पीडित जनता कहाँ छन जहाँ बाटो छैन, जहाँ प्लेन जान सक्दैन, जहाँ हेलिकप्टर पनि जान सक्दैन त्यस्तो हिमाली क्षेत्रहरु छन । यस पटकको भुईचालोले हिमाली क्षेत्रमा सबैभन्दा बढी क्षति पुर्याएको छ । त्यहाँ पुर्याउन सकिएन । जतिबेला मानिसहरु बाहिर आएका थिए त्यती बेला त्रिपाल र ड्राईफुड चाहिएको थियो । तर अब ड्राईफुड चाहिन्न हामीलाई खाद्य सामाग्री चाहिन्छ । हामीसँग भएको खाद्य सामग्रीले हामीले तीन महिना धान्न सक्छौ । तर अब बर्षात आउँदैछ त्यतीबेला पनि हामीले पुर्नस्थापना र पुर्ननिर्माण गर्न सक्दैनौ । आगामि कार्तिक मंसिरबाट हामीले पुर्ननिर्माणको काम सुरु गर्न सक्छौ त्यसैले अब एक वर्षसम्म ति ठाँउहरुमा जनतालाई खाद्य सामग्री दिनु पर्दछ । आगामि नौ महिनाको लागि हामीले खाद्य सामग्री जुटाउनु पर्दछ । या हामीले किनौला, या सहयोग मागौला । सरकार त्यसकोलागि पूर्ण रुपमा जवाफदेखि लिन प्रतिबद्ध छ । हामी खाद्यान्न ल्याउँछौ, जनतालाई दिन्छौ, खुवाउँछौ । अहिले हामी हाम्रा जनतालाई दाल भात उपलब्ध गराउन सक्छौ ।
नेपाल भुकम्पीय जोखिममा छ भन्ने थाहाँ हुँदा हुँदै किन त्यसकोलागि दुरदर्शिता देखाउनु भएन ?
गिरिजाप्रसाद कोइरालाले अपनाउन सक्नु भएन किनकी भुकम्प त्यसबेला पनि आउन सक्थ्यो । त्यसपछि प्रचण्डले अपनाउन सक्नु भएन भुकम्प त्यसबेलामा पनि आउन सक्थ्यो । माधव नेपाल प्रधानमन्त्री हुँदा उहाँले पनि दुरदर्शिता देखाउनु पर्दथ्यो । झलनाथ खनाल पनि प्रधानमन्त्री हुनु हुन्थ्यो, उहाँले पनि त्यो देखाउन सक्नु पर्दथ्यो । अहिलेको सरकारको मात्र सबै जिम्मेवारी हुन्छ ? त्यो भन्दा पहिलेकाले के के गरे भन्दाखेरी भुकम्प आउँछ, नेपाल भुकम्प प्रभावित क्षेत्र हो । कुनै पनि बेला भुकम्प आउन सक्दछ । भन्ने कुरा हामीलाई थाहाँ भयो । हामीले त्यसकोलागि केही तयारी गर्यौ । हाम्रो देशमा प्राकृतिक प्रकोप भनेको नियमित प्रक्रिया जस्तै भएको छ । कहिले बाढी पहिरोबाट प्रताडना बेहोर्नु पर्छ, कहिले महाभुकम्प सामना गर्नु पर्दछ । यसकोलागि हामीले छुट्टै संरचना खडा गर्नु पर्दछ भनेर २०३९ सालमा नै कानून बनेको छ । कानूनले केही ब्यवस्था गरेको छ, हामीले अहिले त्यस अनुसार केही ब्यवस्था गरिरहेका छौ । गृहमन्त्रालय अन्र्तगत एउटा संरचना रहेको छ । त्यसमा प्राकृतिक प्रकोप आउँदा काम गर्नु पर्ने मन्त्रालयका प्रतिनिधिहरु छन । विपत आउँदा त्रिपाल र खाद्य सामग्री चाहिन्छ । खाद्य सामग्री सयौ वर्षसम्म बचत गरेर राख्न सक्दैनौ । केही त्रिपाल हामीले राखेका थियौ । आठ महिना अघि आएको बाढी पहिरोमा हामीले ती त्रिपालहरु बाड्यौ । रेडक्रसले १९ हजार त्रिपाल जम्मा गरेको रहेछ त्यो बेला हामीले बाड्यौ । नेपालका ब्यापारीहरुले एउटा पनि पाल ल्याउन सकेनन । हामीले भारतलाई पनि भन्यौ तर त्यहाँको सरकारलाई पनि यो कहा बन्दो रहेछ भनेर थाहाँ हुँदैन रहेछ । उनीहरुलाई पनि समय लाग्दो रहेछ । चिनले आठ र त्यसअघि पाँच सय पाल ल्यायो । हामीले पाकिस्तानलाई भन्यौ, उसले तीसहजार पाल तुरुन्तै दिन सक्छौ भन्यो तर एउटा प्लेनले पाँच सय थान भन्दा बढी पाल बोक्न सक्दैन । हामीले नीजी क्षेत्रबाट पनि किन्ने प्रयास गरिरहेका छौ । अबको चार पाँच दिन भित्रमा हामी पाँच लाख त्रिपाल वितरण गरिसक्छौ ।
भविष्यमा यस्तो विपत्तिको सामना गर्न के तयारी गर्नु हुन्छ त ?
यसपटक हामीले जनतालाई समयमा राहत उपलब्ध गराउन नसकेकोमा माफी माग्नु पर्छ । त्यसपछि अर्को यस्तो भुईचालो जाँदाको लागि अहिलेदेखि तयारी गरेर राख्छौ । १० लाख पाल हामीले विभिन्न गोदमघरमा जम्मा गरेर राखौला । उद्दार गर्न कुनै विदेशी नआउनेगरी तयारी गरौला । १५÷२० हजारको एउटा फोर्सलाई उद्दार फोर्स भनेरै निर्माण गरौला । त्यो पनि सोचिएको छ । जनतालाई खाद्यान्न दिनको लागि धेरै भन्दा धेरै गोदम घरको निर्माण गरेर राख्छौ । ड्यामेज हुनु अघि बजारमा बेचेर फेरि नयाँ किनेर राखौला । अब नेपालका प्रत्येक घर भुकम्प प्रतिरोधक घर बनाईने छ । त्रिपाल पनि नेपालमै उत्पादन गर्नेगरी तयारी गर्छौ । अब सबै ब्यवस्था गरिने छ तर अगाडि नभई दिदा आज हामी समस्यामा पर्यौ । अहिले मिलेर समस्याको सामना गरौ । आगामि १५÷२० दिनमा हामीले सम्पूर्ण ब्यवस्था गछौ ।
नेपालका नेताहरुमा दुरदृष्टि भएन भन्ने आरोप लाग्न थालेको छ नि ?
त्यसमा म मात्रै दोषी होईन । लाटो भए पनि यही देशको नेता हो, बुङगा भएपनि यही देशको नेता हो । बुद्धि भएको भए पनि यही देशको नेता हो, बुद्धि नभएको भए पनि यही देशको नेता हो । हामी भन्दा राम्रो कोही थिए भने आउथे, उनीहरुले सम्हाल्ने थिए । उनीहरुले दुरदृष्टि बनाउने थिए, गर्ने थिए । भएकाहरु मध्ये हामी नै रहेछौ जनताले पत्याएका । अहिले यति गर्यौ । गर्न सकेनौ हामीले आलोचना सहन्छौ । अब अगाडिका मानिसहरुले गर्नु पर्दछ । यो शिक्षा हो । मसँग दुरदृष्टि थियो तर मैले गर्न सकिन । मैले गएको बाढी पहिरोको विपत्तिमा सबैसँग संयोजन गरेर मैले काम गरेको हु ।
महाभुकम्पपछि सरकारले राहत आउँछ भनेर जनतालाई आश्वास्त पार्न सकेनन नि ?
मैले गृहमन्त्रालयबाट त्यो कुरा भनेको छु । मन्त्रीले गर्ने कुरा पनि त्यही हो । जनताको घरघरमा त भोली चुनाव प्रसार गर्नेबेलामा जाउला ।। हाम्रो काम हेर्ने हो, हामीले यहाँबाट ब्यवस्थापन गर्ने हो । सरकारी कर्मचारीहरु, सेना, शसस्त्र, प्रहरी र स्वयम सेवकहरु घटनास्थालमा पुगेको छ । हामीले यहाँ बसेर सबैलाई परिचालन गरेका छौ । योजना बमोजिम काम भईरहेको छ ।
विदेशी सेनाहरुले पनि त काम गरिरहेका छन नि ?
नेपालमा कोही पनि विदेशी सेना आएको छैन । यहाँ आएका उद्दार टिममात्र हो । हाम्रोमा पनि उद्दारको काम सेना, ससस्त्र र प्रहरीले नै गर्दछन । कहि उद्दार गर्नु पर्यो भने हाम्रा मान्छेहरु पनि आफ्नै ड्रेसमा पुग्दछन । कुनै पनि देशमा दक्ष जनसक्ती, पढेको जानेको भनेको यस्तै संगठित फोर्समा हुन्छ । त्यसैले उताबाट आर्मीको ड्रेसमा आएका हुन हामीले आर्मी बोलाएको होईन । तर काम नेपाली सेनाले गरेको छ , विदेशी सेनाले काम गरेको छैन ।
भारतले अहिले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको कुरा आईरहेको छ नि ?
छैन, अहिलेको कामलाई आन्तरिक हस्तक्षेप मान्नु हुँदैन । आन्तरिक हस्तक्षेप भईरहेको छ भन्ने अनि उनीहरु बसिरहने हुँदैन । हाम्रो देशमा अहिले आधारभुत रुपमा उद्दारको काम सम्पन्न भएको छ । त्यसैले उद्दारको निमित्त आएका सरकारी र गैरसरकारी सैनिक र गैरसैनिक क्षेत्रका जतिपनि छ ती सबै अब नेपालबाट जानु पर्दछ भनेर हामीले निर्णय गरेका छौ । अब सरकारले ब्यस्तित रुपमा सबैलाई फर्काउछ । विपत्त ब्यवस्थापन तीन चरणमा हुन्छ । पहिलो जिवितलाई उद्दार गर्ने हो । त्यसपछि राहतको चरण आउँछ । अहिले हामी राहतको चरणमा छौ । यसकोलागि कुनै विदेशी सेना चाहिदैन । भुकम्पमा परेकाहरु जीवित रहने सम्भावना कम छ ।
सरकार त आलोचित भयो नि ?
यो संसारमा जहाँ पनि यत्रो भुईचालो गएको बेला त्यो सरकार आलोचित हुन्थ्यो । हामीले रातौ दिन काम गरेका छौ । तर जस्तो किसिमको जनधनको क्षति भएको छ र जनता जसरी प्रभावित भए त्यसलाई हामीले ब्यवस्थापन गर्न सकेनौ । त्यस कारणले जनतालाई आलोचना गर्ने ठाँउ छ । तर हामीले गर्ने सक्ने जति गरिनै रहेका छौ ।
मन्त्रीहरुले यसपटक आफ्नो निर्वाचन क्षेत्रमा मात्र काम गरे भन्ने आरोप पनि छ नि ?
मेरो निर्वाचन क्षेत्र यहाँबाट धेरै टाढा छ । त्यहाँ म एक पटक पनि गएको छैन । मैले जहाँ प्रभावित छ त्यही केन्द्रीत भएर सोचेको छु, गरेको छु । मैले पूर्वाग्रही ढंगले कहि पनि काम गरेको छैन । मसँग आएका एमालेका सभासद मात्रै राखेर काम गरेको छैन । सबैसभासदको कुरा सुनेर काम गरेको छु ।
माधवकुमार नेपाल नै साँखुबाट लखेटिनु पर्यो नि ?
गुण्डा लफङ्गा चोर फटाहा हुन्छन नि । तपाई सबैलाई जनता मान्नु हुन्छ । सिन्धुपाल्चोकमा अहिलेसम्म आठवटा राहत लिएर गएका टोलीहरु लुटिएका छन । हेलम्बु, मेलम्चिमा लगेका सामानहरु भोटेचौरमा केही ब्यक्तिहरुले लुटे र बजारमा लगेर विक्री गरे । केही अराजक ब्यक्तिहरुले त्यस्तो गर्न सक्दछन ।
राहत वितरणमा कमि कमजोरी त देखियो नि ?
राहत थोरै भयो । लाखौ जनता घरबार विहीन भएका छन । नेपाल सरकारसँग छ वटा हेलिकप्टर छन । एमआई सेभेन्टीन १, सुपर पुमा १ र अरु चार पाँच जना बस्ने छन । नीजि क्षेत्रबाट पनि हामीले छ वटा हेलिकप्टर लियौ । १२ बटा हेलिकप्टरले हामीले काम गर्यौ । अहिले भारतबाट आएका चौधवटा हेलिकप्टर छन । त्यो चौध वटा हेलिकप्टरले जति काम गरे त्यो भन्दा दश गुणा बढी काम हाम्रा बाह्र वटा हेलिकप्टरले गरे । आफ्नो भनेको आफ्नै हुन्छ, बाहिरका भनेको बाहिरकै हुन्छन । सेना, प्रहरी, कर्मचारी,सचिव सबैले काम गरेका छन ।
सहयोग गर्ने सबैलाई गर्न दिनु पर्छ, तपाईहरुले त एकद्धार प्रणाली भनेर रोक्नु भयो ?
एकद्धार भनेको डाटामा एक द्धार हुनु पर्यो । जसले पनि सहयोग गर्ने हो त्यसले सरकारलाई बताउनु पर्यो कि हामी फलानो ठाँउमा सहयोग गर्दैछौ । हामीले यति राहत लैजादैछौ भनेर भन्नु पर्छ । बताएर जो सुकै जहाँ पनि गएर राहत वितरण गर्न सक्छ । बैशाख महिनाभरी कसैले विदेशबाट राहत ल्याउँछ भने कसैले भन्सार पनि तिर्नु पर्दैन ।

प्रतिक्रिया