हरसम्भव सहयोग जारी रहन्छ: पाकिस्तान

इनेप्लिज २०७२ वैशाख २४ गते ११:०८ मा प्रकाशित

pakistan-flagकाठमाडौँ, २४ वैशाख । पाकिस्तानले भूकम्प प्रभावित नेपाललाई हरसम्भव सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

यहाँस्थित पाकिस्तानी दूतावासमा आज आयोजित कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत सउद अर्सद खोसाले प्राकृतिक विपत्तिका यस विषम घडीमा पाकिस्तान सरकार र जनताले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यही वैशाख १३ गतेदेखि पाकिस्तानी सेनाका चिकित्सक र उद्धारकर्मीले भूकम्प प्रभावित विभिन्न स्थानमा राहत तथा उद्धारका कार्यक्रम सञ्चालन गरिएको र भक्तपुरमा ३० शय्याको अस्थायी अस्पताल स्थापना गरेर भुइँचालोबाट घाइते भएकाको उपचार गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “उक्त अस्पतालमा अहिले पनि उपचार जारी छ, आजसम्म एक हजार ६८४ घाइतेको उपचार भइसकेको छ ।”

पाकिस्तानले दश हजार किलोग्राम औषधि, १५५ त्रिपाल, एक हजार कम्बल, दुई हजार किलोग्राम चामल र दाल राहतस्वरुप भूकम्पपीडितलाई उपलब्ध गराइएको पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया