खाजा खर्च कटाएर भूकम्प पीडितलाई राहत सङ्कलन

इनेप्लिज २०७२ वैशाख २४ गते ५:२९ मा प्रकाशित

लम्की, २४ वैशाख । कैलालीको एक निजी विद्यालयका बालबालिकाले आफ्नो एक दिनको खाजा खर्चबाट केही रकम कटाएर भूकम्प पीडितलाई राहत सङ्कलन गरेका छन् ।

वैशाख १२ गते गएको भूकम्पमा परी घाइते भएकाको सहयोगका लागि कैलालीको दादोधरा–७ मुडामा रहेको नोबेल एकेडेमी नेपाल बोर्डिङ स्कुलका बालबालिकाले राहत सङ्कलन गरेका हुन् ।

विद्यालयका शिक्षक र विद्यालयमा अध्ययनरत बालबालिकाले रु चार हजार १४८ सङ्कलन गरेको विद्यालयका प्रधानाध्यापक राजेन्द्र भट्टले जानकारी दिनुभयो ।

उहाँले सङ्कलित रकम नेपाल पत्रकार महासङ्घ कैलाली शाखामार्फत प्रधानमन्त्री उद्धार कोषमा जम्मा गर्न शाखाका पूर्व सदस्य लिलाराज खत्रीलाई हस्तान्तरण गर्नुभयो ।

त्यस्तै कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसले प्रधानमन्त्री दैवी उद्धार कोषमा रु ६१ हजार १०५ राहत रकम जम्मा गरेको छ ।

क्याम्पसका प्राध्यापकबाट सङ्कलन गरेको रु ५० हजार र विद्यार्थीहरुले सङ्कलन गरेको रु ११ हजार १०५ रकम कोषमा जम्मा गरेको क्याम्पस प्रमुख लक्ष्मीप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया