क्षतिग्रस्त घरहरुको लगत सङ्कलन तीव्र

इनेप्लिज २०७२ वैशाख २३ गते १४:३५ मा प्रकाशित

22729_899179290150642_312410863469683610_nललितपुर, २३ वैशाख । विनाशकारी भूकम्पवाट उपमहानगरपालिकाभित्र क्षतिग्रस्त भएका घरहरुको लगत सङ्कलन कार्यलाई तीव्रता दिइएको छ ।

क्षतिग्रस्त घरहरुको लगत सङ्कलनका लागि कार्यालयले आवश्यक प्राविधिक टोली खटाइसकेको उपमहानगरपालिकाका कार्यकारी अधिकृत ताराबहादुर कार्कीले बताउनुभयो । उहाँले उक्त कार्यका लागि प्रत्येक वडा कार्यालय सचिवको संयोजकत्वमा एक÷एक वटा समिति निर्माण गरिएको उल्लेख गर्नु भयो ।

उक्त भूकम्पमा परी नगर क्षेत्रभित्र करिब एक हजार घर पूर्णरुपमा र दुई हजार पाँचसयको हाराहारीमा आंशिक रुपमा क्षति भएको उहाँले वताउनुभयो ।

अनुगमनका लागि मन्त्रालयवाट खटाईएका सहसचिव बावुराम अधिकारीका अनुसार नगरक्षेत्रभित्र तीन किसिमका क्षतिग्रस्त घरहरुको पहिचान भएको छ ।

ललितपुर उपमहानगरपालिकाभित्र जनगणना वि.सं. २०६८ को तथ्याङ्क अनुसार ५४ हजार ५८१ घरधुरी रहेका छन् । यसैगरी पछिल्लो समयमा थप गरिएका आठवटा वडाबाट थप आठ हजार ३१२ घरधुरी थपेका छन् । यसबाट अब उपमहानगरपालिकाभित्र ३० वटा वडा छन् भने घरधुरी सङ्ख्या ६२ हजार ८९३ पुगेको छ । यसैगरी नगरक्षेत्रभित्र जनसङ्ख्या दुई लाख ५४ हजार ३०९ पुगेको छ ।

उक्त भूकम्पमा परी जिल्लाभरी करिब २२ हजारको सङ्ख्यामा घर क्षतिग्रस्त भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उक्त घर सङ्ख्यामध्ये १६ हजारको सङ्ख्यामा पूर्ण ध्वस्त र वाँकी आंशिक क्षति भएको जनाएको छ । यसैगरी एक हजार १०० भन्दामाथि घाइते भएका छन् भने १७२ ले ज्यान गुमाएका छन् ।

नगर क्षेत्रभित्रपर्ने हरिसिद्धि, धापाखेल, सुनाकोठी, गुईंटोल, पिंछे, च्यासललगायतका क्षेत्रमा अत्यधिक मात्रामा घर क्षति भएको छ ।

प्रतिक्रिया