इलाममा शैक्षिक जागरण अभियान सुरु

इनेप्लिज २०७२ वैशाख २३ गते ४:५० मा प्रकाशित

ilam_nepal_mapइलाम, २३ वैशाख । सामुदायिक विद्यालयप्रति घट्दै गइरहेको अभिभावकको विश्वास र खस्कँदो शैक्षिक गुणस्तरमाथि उकास्ने उद्देश्यले इलाममा बृहत् ‘शैक्षिक जागरण अभियान २०७२’ सुरु गरिएको छ ।

‘शैक्षिक उत्तरदायित्वको पहिचान, नेपाल शिक्षक सङ्घ इलामको अभियान’ भन्ने नाराका साथ सङ्घले जागरण अभियान सुरु गरेको हो ।

शिक्षा क्षेत्रमा बढेको अन्योलता, निरासा, तथा विद्यार्थी र अभिभावकमा सामुदायिक विद्यालयप्रतिको घट्दो आकर्षणलाई ध्यानमा राख्दै सङ्घले जिल्लाका सबै विद्यालयमा अभियान सञ्चालन गर्ने जनाएको छ ।

अभियानको पहिलो चरणमा जिल्लास्तरीय सरोकारवालासँग अन्तक्र्रिया, समुदाय र विद्यालयमा पुगेर शैक्षिक बहस, अन्तक्र्रिया गरी उठेका विषयवस्तुलाई समेटेर जिल्लास्तरमा व्यापक कार्ययोजना बनाई जिल्लाका ५०० भन्दा बढी सामुदायिक विद्यालयमा एकैसाथ लागू गरिने सङ्घका अध्यक्ष खडानन्द अधिकारीले बताउनुभयो ।

अभियानको सुरुवातको क्रममा सामुदायिक विद्यालयमा समुदायबाट उठेका आलोचनाको वास्तविक चिरफार गरी त्यसको समस्या समाधानमा खेल्नुपर्ने भूमिकाका विषयमा छलफल गरिएको नेपाल शिक्षक सङ्घले जनाएको छ ।

अभियानबाट सिकाइ उपलब्धिमा सघाउ पुग्ने, सामुदायिक विद्यालयप्रति विद्यार्थी तथा अभिभावकको आकर्षण बढ्ने, शैक्षिक गुणस्तरमा सुधार आउने अपेक्षा राखिएको नेपाल शिक्षक युनियनका अध्यक्ष पूर्णप्रसाद गौतमले बताउनुभयो ।

प्रतिक्रिया