चार सय बयालीसको उपचार, एक सय छत्तीसको शल्यक्रिया

इनेप्लिज २०७२ वैशाख २२ गते ४:१० मा प्रकाशित

15050103sfsfsffरत्ननगर (चितवन), २२ वैशाख । भूकम्पमा परी घाइते भएकामध्ये अहिलेसम्म ४४२ को चितवनमा उपचार भएको छ ।

भूकम्पले चितवनमा अहिलेसम्म १३६ को शल्यक्रिया भएको जिल्ला विपद् व्यवस्थापन समितिको तथ्याङ्कमा उल्लेख छ । अहिलेसम्म कुल १७७ उपचारपछि घर फर्किएको र २६५ को उपचार जारी रहेको समितिका स्रोतव्यक्ति बलराम लुइँटेलले जानकारी दिनुभयो ।

पाँचको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको र एकलाई मात्रै थप उपचारका लागि काठमाडौँ पठाइएको छ । उपचारका क्रममा दुईको मृत्युभएको समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सबैभन्दा बढी चितवन मेडिकल कलेजले १३७ को उपचार गरेको र ३७ को शल्यक्रिया गरेको छ । भरतपुर अस्पताल चितवनले कुल १२९ को उपचार गरेकामा ५८ को शल्यक्रिया गरेको अस्पतालले जानकारी दिएको छ ।

यस्तै कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा ६० घाइतेको उपचार गरेकामा १८ को शल्यक्रिया क्यान्सर अस्पतालले, २१ को उपचार नारायणी सामुदायिक अस्पतालले, ४७ को उपचारमा १४ जनाको शल्यक्रिया गरिएको समितिको तथ्याङ्कमा उल्लेख छ ।

भरतपुर सामुदायिक अस्पतालले चार, मौलाकालिका अस्पतालले चार, सेन्ट्रल अस्पतालले नौ, एलाइभ अस्पतालले २३, आशा अस्पतालले तीन, नेसनल सिटी र पुष्पाञ्जली अस्पतालले दुई÷दुई र चितवन अस्पतालले तीनजनाको उपचार गरेको समितिले जनाएको छ ।

जिल्लामा चितवनसहित सिन्धुली, नवलपरासी, रसुवा, धादिङ, नुवाकोट, ललितपुर, गोरखा, सिन्धुपाल्चोक, बारा, तनहुँ र मकवानपुरका घाइते उपचारका लागि आएको अस्पतालले जनाएको छ । विभिन्न सङ्घसंस्थाको पहलमा भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, भरतपुर मेडिकल कलेजका घाइते र कुरुवालाई निःशुल्क बिहान–बेलुका खाने व्यवस्था गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रजिअ डा मानबहादुर विकेले घाइतेको उपचार, उद्धार तथा राहत वितरणलाई प्राथमिकता राखेर जिल्लामा काम भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया